विसं २०८० माघ ०४ गते शुक्रवारको दिन थियो । बिहान म आमासँग मन्दिर गइरहेकी थिएँ । त्यसै बखत ह्वाट्सएपमा संदेश आयो । उक्त संदेश क्याम्पसकी साथी रुपा पाण्डेयले पठाएकी रहिछन् । सन्देशमा तथ्याङ्क सङ्कलन कार्यको लागि माघ ०५ गते शनिवारको दिन सुवर्णपुर र ठोरी जाने बारे सुचना थियो । अचानक कार्यक्रम तय भएको थियो । त्यस कारण शिक्षकको निर्देशनमा एक साथीले अर्को साथीलाई सुसुचित गरिरहेका थिए ।

हरीखेतान बहुमुखी क्याम्पस, वीरगंजमा अध्ययनरत स्नातक तह मानविकी सङ्कायका हामी विद्यार्थीहरुको शैक्षिक भ्रमण थियो । यस कार्यक्रमको मेसो मिलाउने गुरुज्यूहरु हुन्, अमृत चापागाईं र मुक्तकुमार भुसाल ।

यो कुरा मैले मन्दिर जाँदै गर्दा आमालाई बताएँ । मन्दिरबाट घरफर्केपछि बुबालाई पनि भनें । अभिभावकबाट अनुमति पाए पनि म दोधारमा थिएँ । किनभने यसअघि म अभिभावकको सानिध्यबिना एक्लै कतै पनि गएकी थिइन् । त्यस कारण मेरो लागि यो यात्रा एकातर्फ खल्लो थियो भने अर्कोतर्फ उत्साह पनि । 

विसं २०८० माघ ०५ गते शनिवारको दिन विहान ६ बजे क्याम्पसमा पुग्नु पर्ने थियो । सँधैझैं बिहान करीब पाँच बजे उठें । नित्यकर्मबाट निवृत भएँ । झोलामा कपि र कलम राखेर तयार भएको कुरा बुबालाई अवगत गराएँ । केहिबेरमा बुबासँग मोटरसाइकलमा प्रस्थान गरें । 

बिहानको लगभग सवा ६ बजे म क्याम्पसमा पुगें । म पुग्दा केहि साथीहरु आइसकेका थिए भने बाँकी साथीहरुको आउने क्रम जारी थियो । त्यस भ्रमणमा दोस्रो, तेस्रो र चौथो सङ्काय गरी तिनवटा समुह थियो । त्यसैगरी, हामी विद्यार्थीहरुको अभिभावकको रुपमा गुरुहरु आदरणीय अमृत चापागाईं, मुक्तकुमार भुसाल एवं उषा चौधरी म्याम हुनुहुन्थ्यो । शिक्षक तथा हामी विद्यार्थीहरु बसमा बस्यौं । बिहानको लगभग ८ः३० बजे क्याम्पसबाट यात्रा प्रारम्भ भयो । वीरगंजको घन्टाघर हुँदै पावरहाउस चोकदेखि पश्चिमतर्फ हुलाकी राजमार्गमा यात्रा जारी थियो ।

पारसनाथ मन्दिर, महुवन, पर्सा

बाटोमा पर्ने भएकोले महुवनस्थित ऐतिहासिक शिव मन्दिरको अवलोकन गर्ने योजना पनि रहेछ । गाउँको मौसम तथा प्राकृतिक दृश्य देख्न पाइयो । शहरको बाक्लो बस्तीमा पुसको कठयाङ्ग्रिदो जाडोयाम बाहेक हुस्सुसँग साक्षात्कार हुँदैन । तर ग्रामिण क्षेत्रको खुला स्थानमा हुस्सुमय परिदृश्य देख्न पाइयो । हुस्सु यस्तो थियो कि नजिकैको बस्तु हेर्न कठिन थियो ।

पारसनाथ महादेव मन्दिर, महुवन ।

बिहानको लगभग ९ः३० बजे हामी महुवन पुग्यौं । प्रत्येक विद्यार्थीको अनुहारमा मुस्कानको छायाँ उघ्रिरहेको मैले अनुभुत गरें । हामी सबैजना बसबाट ओर्लियौं । गुरुहरूको नेतृत्वमा हामी मन्दिरतर्फ लाग्यौ । सबैजना आआफ्नो समूहमा साथीहरुसँग छलफल गर्दै अगाडि बढ्न थाल्यौं । केहिबेरमा हामी मन्दिर नजिक पुग्यौं । मन्दिरको चारैतिरबाट ठूलो पर्खालले घेरेर सुरक्षित गरिएको रहेछ । हाम्रो टोली मन्दिरमा प्रवेश ग-यो ।

मन्दिरको प्राङ्गणमा प्रवेश गर्ने बित्तिकै मैले सेतो रङगको घर देखें, जुन देखेर म एकछिन अलमलमा परें । अनि मनमा प्रश्न उठ्यो । यस्तो ऐतिहासिक र प्राचिन मन्दिरको अवस्था यस्तो किन छ ? तर मेरो अलमल तब मेटियो, जब म दुई पाइला अगाडि बढें । त्यस घरभित्र सुन्तला रङ्गले रङरोगन गरिएको भव्य दृश्य हरें । अमृत सरले महुवन घर भएका एकजना विद्यार्थीलाई त्यहाँ बोेलाउनु भएको थियो । हामी पारसनाथको दर्शन पूजन ग-यौं । ती विद्यार्थी दाइले आफुले जाने जतिको जानकारी हामीहरुसँग साझा गरे । त्यतिन्जेल महुवन गाउँका केहि स्थानिय बासिन्दाहरु पनि त्यहाँ आइपुगेका थिए । कुराकानीको क्रममा उहाँहरुसँग मन्दिरको बारेमा थप जानकारी हासिल भयो ।

गाउँलेहरूले दिएको जानकारी अनुसार पारसनाथ मन्दिर पर्सा जिल्लामा अवस्थित हजारौं वर्ष पुरानो मन्दिर हो । पारसनाथको पारस शब्दबाट जिल्लाको नाम पर्सा नामाकरण भएको कुरा अवगत भयो । त्यसैगरी, विसं २०२१ सालको भूमि व्यवस्था पश्चात् मन्दिरको स्वामित्व गुठीमा परिणत भएको स्थानीहरुले बताए । सोअघि पारसनाथ मन्दिरको संरक्षण स्थानिय स्तरमा निहित थियो ।

यस मन्दिरमा रहेको इनारको पानी उहिले गाउँघरको जलश्रोतको माध्यम थियो । यो इनार कहिले पनि नसुक्ने स्थानिय मानिसहरुले बताए । उनीहरुले कुराकानीको क्रममा मन्दिरको जग्गा अतिक्रमणमा परेको दुखेसो समेत पोखे । हाल स्थानिय तहले मन्दिरको जग्गा संरक्षणका लागि मन्दिरको चारैतिर पर्खालले घेरेको कुरा अवगत भयो । एक आश्चर्यजन कुरा पनि सुुन्न पाइयो । स्थानियहरुका अनुसार पारसनाथ मन्दिरको टुप्पोमा रहेको त्रिशुल सूर्यको गतिसँगै घुम्ने कुराले हामीलाई अच्चमित तुल्यायो । ऐतिहासिक यस मन्दिरको संरक्षणमा तीनै तहका सरकारहरुको ध्यानाकर्षण हुनु पर्ने कुरामा गाउँलेहरुले जोड दिए ।

मन्दिरको प्राङ्गणमा स्थानिय मानिसहरुसँग हाम्रो कुराकानी चलिरहेको बेला महिला र पुरुषहरुको समूह माङ्गलिक गीत गाउँदै मन्दिरतर्फ आइरहेको दृश्य मनमोहक थियो । ती भक्तजनले डोरी बाँधेको बाल्टीले इनारबाट जल निकाले । त्यसपछि मन्दिरमा दर्शन–पूजन गर्न गए । झण्डै एक घण्टा हामीले त्यहाँ ब्यतित ग-यौं । त्यसपछि आफूसँग लिएर गएका बिस्कुट र पाउरोटी आदि ग्रहण गरी सुवर्णपुरतर्फ प्रस्थान ग-यौं ।

सुवर्णपुर, पर्सा

यात्राको क्रममा बसको झ्यालबाट खेतबारी र हरियाली हेर्दैे यात्रा जारी थियो । महुवनबाट हिंडेको लगभग पैंतालिस मिनेटको यात्रापछि हामी स्वर्णपुर पुग्यौ । आफ्नै गृह जिल्लाको स्थान भए तापनि यो मेरो पहिलो यात्रा थियो । नयाँ ठाउँ अनौठो लाग्नु स्वभाविक थियो । सुवर्णपुरको नामैले त्यहाँको अवस्था वर्णन गर्ने हुनाले मसँग थप त्यहाँको सुन्दरता वर्णन शब्द छैन । चारैतिर हरियाली र निलो आकाशमा मुस्कुराइरहेको सूर्यलाई देखेर मन एकदमै गदगद थियो ।

सुवर्णपुर पुग्नासाथ मैले सर्वप्रथम शिव मन्दिर देखे । मन्दिरको ठ्याक्कै अगाडि सहिद स्मारक हेरें । सोहि बाटो हुँदै बस सुनाखरी सामुदायिक होम स्टे पुग्यौं । हामीले सुवर्णपुर गाउँ र त्यहाँको होमस्टेको बारेमा जानकारी प्राप्त गयौं ।

भुसाल सरले हामी विद्यार्थीहरुको तिन/तिनजनाको समुह बनाउने आदेश दिनुभयो । त्यहाँको जानकारी हासिल गर्नु पर्ने सेरोफेरोमा तयार पारिएको प्रश्नावली सबै समूहमा वितरण गरियो । सुनाखरी सामुदायिक होम स्टेका सचिव बलराम कर्माचार्य लगायतका पदाधिकारीहरुले सुवर्णरसँग सम्बन्धित विभिन्न जानकारीहरु अवगत गराए । यसैगरी, विद्यार्थीहरुलाई होमस्टे अवलोकन गराए । विद्यार्थीहरुको समुह छुटाछुटै होम स्टेका सञ्चालकहरुसँग कुराकानी गरे ।

म आबद्ध समुह पनि एउटा घरमा पुग्यौं । त्यस घरमा एउटी आमा थिइन् । उनी एकदमै सरल स्वभावकी थिइन् । उनले हाम्रो स्वागत गरिन् । हामी जुन घरमा डाटा सङ्कलनका लागि गएका थियौं, त्यहाँ भर्खरै होमस्टेका लागि कोठा तयार हुँदै थियो । ती आइमाइले कोठाहरु देखाइन् । दुईवटा कोठामा अट्याच बाथरुम थियो । कोठाहरुको रङगरोगनको काम भइसकेको थियो । अनि फर्निचर र झ्याल–ढोकाको काम मात्र बाँकी थियो । त्यो होमस्टे फागुन महिनादेखि सञ्चालन हुने सम्भावना उनले व्यक्त गरिन् । हामीले प्राप्त प्रश्नावलीको सहयोगले ती आमासँग तथ्याङ्क सङ्कलन ग-यौं । सुर्तीको खेती म पहिलो पटक हेरें र त्यो पनि सुवर्णपुरमा ।

सबै समूह विस्तारै निर्धारित ठाउँमा आइपुग्यौं । त्यसपछि हामीहरु बस तिर लाग्यौं । विभिन्न समूहहरुले डाटा संकलन गरेको तथ्याङ्क सरलाई हस्तान्तरण ग-र्यौं ।

ठोरी, पर्सा

चियापान गरी हामी ठोरीतर्फ प्रस्थान ग-र्यौं । हरियो बनजङ्गल कति राम्रो देखिन्थ्यो भन्ने कुरा वर्णन गरेर साध्य छैन । सुर्तिको खेती लहलाउँदो थियो । रमणीय दृश्यको आनन्द लिदैं हाम्रो यात्रा हुलाकी राजमार्गमा जारी थियो । सेताम्य चुरे पहाड देखिन थालेपछि केहि साथीहरुले ठोरी आइपुगेको बताइरहेका थिए । पुलमा मानिसहरु फोटो खिंचिरहेका थिए । कलकल पानी बगिरहेको खोला कटेपछि सानो बजार देखियो । छेवैमा एउटा पार्क थियो । अन्ततः बस ठोरी रिसोर्टमा पुग्यो ।

भोक लागिसकेको थियो । अब खाना पाइन्छ भनेर मन हर्षित थियो । खाना आउँदै गर्दा बिद्यार्थीहरु फोटो र सेल्फीमा व्यस्त भए । शाकाहारी खाना तयार थियो । त्यस कारण म लगायत साकाहारी खाने साथीहरु भोजन गर्न थाल्यौं । पेट भरिसकेपछि मन आन्नदित भयो ।

काउन्टरमा गएको बेलाको प्रसङ्ग यहाँ उल्लेख नगरे पनि हुन्छ । तर मलाई के लाग्छ भने जीवनको हरेक भोगाइ एक नयाँ अनुभव हो, जुन इमान्दारीपूर्वक साझा गर्नुपर्छ । घट्ना कस्तो थियो भने खानाको बिल सुनेर मेरो सातो गयो । किनभने खानाको दर थियो, रु चार सय । अभिभावकसँग यात्रामा जाँदा बिलको चिन्ता हुँदैन । त्यस कारण दरभाउ थाहा हुने कुरै भएन । तर यतिबेला खानाको बिल तिर्ने जिम्मेवारी आफ्नै टाउकोमा थियो । अर्को कुरा म अभिभावकबाट पाएको पैसा थोरै खर्च चाहन्थें ।

खानाको रु चार सय तिर्नुपर्ने थियो । पहिले थाहा भएको भए शायद म बिस्कुट खाएर काम चलाउँथे होला । मलाई अलमलमा देखेर सिनियर दिदीले पैसा नहोला ठानेर सहयोग गर्न अघि सरिन् । तर, आफूसँग बिल तिर्ने जति पैसा भएको कुरा अवगत गराउँदै दिदीको सहयोगी भावनालाई ह्दयदेखि धन्यवाद दिएँ । शनिवारको दिन भएकोले रिसोर्टमा गीत सङगीतको कार्यक्रम चलिरहेको थियो । कतिपय साथीहरुलाई संगितको धुनमा रमाइरहेको वातारण रमाइलो थियो । दिउँसो करिब ४ बजे हामी ठोरीदेखि विरगंज प्रस्थान ग-यौं । वीरगंज आइपुग्दा लगभग साढे पाँच बजिसकेको थियो ।

यो भ्रमण मेरो लागि एकदमै अनौठो र नयाँ थियो । स्थलगत भ्रमणमा मैले धेरै नयाँ कुराहरू हेरें, सिके र अनुभव गरे । अभिभावक तुल्य गुरुज्यूहरूको सानिध्यमा हामी शैक्षिक भ्रमण गर्न पायौं । आफ्ना कक्षाका साथीहरू एवं सिनियर दाई तथा दिदीहरूसँग आफ्नो विचार साझा गर्ने, सुन्ने र बुझ्ने मौका पाइयो । सामूहिक क्रियाकलापले धेरै कुराको अनुभव हुँदो रहेछ । यो शैक्षिक भ्रमण र मिठो अनुभुति अविष्मरणीय रहने छ ।

(लेखिका : हरीखेतान बहुमुखी क्याम्पस, वीरगंजमा स्तानक तहमा अध्ययनरत छात्रा हुन्।)

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here