काठमाडौँ, जेठ २१ गते । देशका विभिन्न सहरहरूमा विद्युत कटौती हुने गरेकोमा सांसदहरूले आपत्ति जनाएका छन् । तराई, मधेशमा चर्को गर्मीको सामना गरिरहेका जनतालाई थप कष्ट दिनेगरी विद्युत आपूर्ति पनि कटौती गरिएको भन्दै सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसदहरूले आक्रोश व्यक्त गरेका हुन् ।
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) की सांसद दीपा शर्माले ४४/४५ डिग्रीको चर्को गर्मीको सामना गरिरहेको नेपालगन्जमा अघोषित रूपमा विद्युत कटौती हुने गरेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले जनतालाई गर्मीबाट तत्काल राहत दिन पनि विद्युत आपूर्ति व्यवस्थालाई तत्काल सहज बनाउन सरकारसँग माग गर्नुभयो ।
‘‘नेपाल लोडसेडिङ मुक्त देश भयो । तर कुनै बेला दैनिक ६ घण्टा विद्युत उपयोग गर्न पाएका देशभरका उपभोक्ता नागरिकहरू देश लोडसेडिङ मुक्त भएसँगै उज्यालोमा रम्न पाए । तर विडम्बना बाँके लगायत कर्णाली प्रदेशका जनताले भने लोडसेडिङ मुक्त भएको अनुभूति गर्न पाएका छैनन् । नेपालगन्ज उपमहानगरपालिका लगायत बाँके जिल्लाभरी नै विद्युत आपूर्ति अनियमित भएका कारण ४४/४५ डिग्रीको तापक्रममा बाँकेवासीको जनजीवन असामान्य र कठिन बनेको छ ।,’’ सांसद शर्माले भन्नुभयो, ‘‘घोषित होइन, अघोषित लोडसेडिङका कारण अस्पताल, उद्योगधन्दा विद्यालय, सञ्चारका सबै माध्यमहरू र सबै कार्यालयहरूलाई काम गर्न कठिन भएको छ । यथाशीघ्र यो असामान्य र कठिन अवस्थालाई सामान्य र सहज बनाउन विद्युत आपूर्ति नियमित र पर्याप्त उपलब्ध गराउन र त्यसको व्यवस्थापन गरी विद्युत कटौती नगर्न दीर्घकालीन समस्या समाधान गर्न म सरकारसँग ध्यानाकर्षण गराउन चाहन्छु ।’’
यसैगरी, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले पनि जनतामा थप मारमा पार्नेगरी विद्युत कटौती नगर्न सरकारलाई दबाब दिनुभयो । उहाँले गर्मीले जनताको जीवन कष्टकर बन्दै गएकाले सरकारले विद्युत आपूर्ति सहज बनाउन तत्काल ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सांसद चौधरीले भन्नुभयो, ‘‘नेपाल विद्युत प्राधिकरणले व्यापक रूपमा विद्युत कटौती गरी राखेको छ । त्यसकारण तराई मधेशमा व्यापक रूपमा गर्मीको महसुस र जीवन कष्टकर बन्दै गएको छ । यस्तो अवस्थामा विद्युत कटौती नगरीदिन म सरकारसँग जोडदार माग गर्न चाहन्छु । साथै चुरे दोहन व्यापक रूपमा भएको छ । यसको नियन्त्रण हुनुपर्यो ।’’
यता, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले ललितपुरवासीका लागि तत्काल खानेपानीको समस्या समाधान हुनेगरी बजेटको व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभयो ।
उहाँले खानेपानीको व्यापार हुने र जनताले पिउने पानी पनि नपाउने अवस्थाको अन्त्य गर्न सरकारले ढिलाइ गर्न नहुने बताउनुभयो । सांसद कार्कीले ललितपुरवासीका लागि खानेपानीको अभाव हुँदा पनि सरकारले बेवास्ता गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘मेलम्ची खानेपानी आयोजनाको एक करोड ८० लिटरको ट्याङ्की निर्वाचन क्षेत्र ललितपुरमा ३ मा छ तर त्यहाँ हरिसिद्धी, धापाखेल, चुनिखेल, नखिपोट, कुसुन्ती, जावलाखेल जताततै रोदन छ । सरकारले गरेको यो बेवास्तापति मेरो खेद छ । धारामा पानी दिन केयूकेलसँग पानी नै छैन भनिन्छ । तर केही हजार तिर्ने हो भने टयांकरका ट्याङ्कर पानी घरमै आइपुग्छ । यसरी नागरिकलाई लाचार बनाएर पानीको व्यापार गर्न पाइन्छ ? यसको नियमन र नियन्त्रण हुनुपर्यो । ललितपुर बासीको खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्नका लागि बजेटको व्यवस्था गरियोस् ।’’
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले नारायणहिटी सङ्ग्रहालय भित्र रहेको गणतन्त्र स्मारक सर्वसाधारणका लागि खुला गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले नेपाल सरकारले सो स्मारक खुलाउन नसक्ने हो भने त्यसको जिम्मा काठमाडौँ महानगरपालिकालाई दिए हुने सुझाव समेत दिनुभयो ।
सांसद सिंहले भन्नुभयो, ‘‘नारायणहिटी दरबार भित्र रहेको गणतन्त्र स्तम्भ पाँच वर्ष भइसक्यो बनेको । वर्षौँदेखि ताला लगाई राखिएको छ । त्यो पार्कमा जनताहरूलाई घुम्न, अध्ययन गर्न, विद्यार्थी भाइबहिनीहरूका लागि त्यहाँ घुम्नका लागि वरिपरि विद्यालयहरू भएको हुनाले त्यसको सुचारु जनताका लागि गर्न म सरकारसँग माग गर्न चाहन्छु । यदि त्यो काम नेपाल सरकारले गर्न सक्दैन भने काठमाडौँ महानगरपालिकालाई जिम्मा दिइयोस् भन्ने म अनुरोध गर्दछु ।’’
सांसद सिंहले गणतन्त्र स्मारक अध्येताहरूका लागि अनुसन्धान गर्ने विषय पनि भएको हुनाले त्यसलाई खुला गर्ने कुरामा सरकारले ढिलाइ गर्न नहुने जिकिर समेत गर्नुभयो । साभार : गोरखापत्र