वीरगंज- वीरगंज महानगरपालिका–२४ स्थित एमाले पार्टी कार्यालयको नजिकको सडकखण्डमा झुण्डिएर रहेको इन्टरनेट, टेलिफोन तथा डिश सेवा प्रदायक कम्पनीहरूको केबल जथाभावी ढंगले टाँगिएको छ। बिजुलीका तारहरूसँग मिसिएर गाँजिएको यस्ता तारहरूले त्यहाँबाट आवागमन गर्ने सर्वसाधारणलाई उच्च जोखिममा पारेको छ।
स्थानीय बासिन्दाहरूको गुनासो अनुसार केबलहरू सडकको बीचबाटै लटकिरहेका छन्, जसले पैदलयात्रीदेखि बालबालिकासम्मको सुरक्षामा प्रत्यक्ष असर पुर्याइरहेको छ। खासगरी बर्खायाममा विद्युत सट भएर आगलागी हुने सम्भावना उच्च रहेको उनीहरू बताउँछन्।
एक स्थानीय बासिन्दाले भने, “एकातर्फ हामीलाई ‘अगलगीबाट सचेत रहनू’ भनिन्छ, तर अर्कोतर्फ टाउकोमाथि यत्रो तारको जाल लट्केर बसेको छ — यो सिधै ‘दुर्घटनाको आमन्त्रण’ हो।”
यस्ता संरचनात्मक जोखिमका विषयमा सम्बन्धित निकाय—वीरगंज महानगरपालिका, नेपाल विद्युत प्राधिकरण तथा इन्टरनेट/केबल सेवा प्रदायक कम्पनीहरूले तत्काल ध्यान दिनु पर्ने स्थानीयवासीहरूको माग रहेको छ।

























