बारा, ०४ असार- बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं १४ बघवन टोलमा पुरानो रिसीवीका कारण एक व्यक्तिको कुटपिट गरी हत्या गरिएको छ। ५० वर्षीय नन्दुराउत कुर्मीलाई ६ जनाको समूहले मिलेर कुटपिट गर्दा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटना असार २ गते बेलुका करिब सवा छ बजे घटेको हो। घाइते कुर्मीलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल, कलैयामा पुर्याइएको थियो। तर, अस्पतालले बेलुका सवा सात बजे उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय, बाराले जानकारी दिएको छ।
प्रहरीका अनुसार घटना पुरानो रिसीवीका कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनामा संलग्नमध्ये २८ वर्षीय दिगम्बर साह कलवारलाई घटनाको दिनै नियन्त्रणमा लिइएको थियो। उनलाई ज्यान सम्बन्धी कसूरमा बारा जिल्ला अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
अन्य फरार आरोपितहरुको खोजीका लागि प्रहरी निरीक्षक खेमप्रसाद नेपालको नेतृत्वमा विशेष टोली परिचालन गरिएको थियो। टोलीले असार ०४ गते थप तीनजना व्यक्तिलाई विभिन्न स्थानबाट पक्राउ गरेको छ।
पक्राउ परेका तीन जनामा मुख्य आरोपी उमेश जैसवालकी श्रीमती ३८ वर्षीया रन्जु जैसवाल, उनका दुई छोराहरु २० वर्षीय सुमितकुमार जैसवाल र १८ वर्षीय सुजितकुमार जैसवाल रहेका छन्।
रन्जु जैसवाल बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं ५ स्थित सागर लामिछानेको घरमा लुकीछिपी बसेको अवस्थामा फेला परेकी थिइन्। उनका दुई छोराहरू पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं १ शान्ती टोलस्थित बसिर मियाँको घरबाट पक्राउ गरिएको हो।
पक्राउ परेकाहरूलाई पनि अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको र अन्य फरार अभियुक्तहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

























