रौतहट, २५ मंसिर । बाराको बरियारपुर स्थित विश्व प्रसिद्ध गढीमाई मन्दिरमा दर्शन गरेर फर्किरहेको स्कार्पियो रौतहट स्थित राजमार्गमा दुर्घटना हुँदा ज्यान गुमाएका ८ जनाको सनाखत भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका स्थित धन्सार–लमाहा खोलाको नजिकै मंगलवार बिहान दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सिराहा जिल्लाको अर्नामा गाउँँपालिका वडा ३ का गाडी चालक श्रीकुमार यादव, दर्शनार्थीहरू स्थानीय ६० वर्षीय लरूवती देवी महरा, ३० वर्षीय उर्मिला महरा, ५० वर्षीय रामकुमारी महरा, ५५ वर्षीय महँगी देवी महरा, ६२ वर्षीय फुलमन्ति देवी महरा, ६० वर्षीय रामकुमारी देवी महरा, ३० वर्षीय शकुन्तला देवी महरा रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले बताए । घाइते हुनेहरूमा सोही ठाउँको ३० वर्षीय राधा महरा, २ वर्षीय आर्यन महरा, २५ वर्षीय देव कुमारी महरा, ७ वर्षीय ऋतिक महरा र ६० वर्षीय कन्या देवी महरा रहेका छन् । मृतकमध्ये सात जना अर्नमा गाउँँपालिका–३ बन्ठिया टोलका स्थानीय हुन् । अर्का मृतक सोही गाउँँपालिका–५ का स्कार्पियो चालक रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ । स्कार्पियोमा सवार अन्य बालबालिका सहित ५ जना घाइते छन् । बारा बरियारपुर स्थित लागेको पञ्चवर्षीय गढीमाई मेला दर्शन गरी सिराहा फर्किरहेको उक्त स्कर्पियो अनियन्त्रित भई बाटो बाट तल दाहिने साइडको रूखमा ठोक्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख इन्स्पेक्टर लोकेन्द्र अधिकारीले बताएका छन। घाइतेहरूको चन्द्रनिगाहपुर स्थित अस्पतालमा सामान्य उपचारपछि बिहान सवा ४ बजे एम्बुलेन्स बाट बयोधा अस्पताल वीरगंज पठाइएको प्रहरीले जनाएको छ। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले जनाएको छ।
प्रतिक्रिया लेख्नुहोस्

























