वीरगंज, २८ असोज । नदीको दीर्घकालीन संरक्षण र प्रदूषण नियन्त्रणका उपायबारे वीरगंज महानगरपालिकाले मंगलबार सरोकारवालाहरूसँग संयुक्त छलफल गरेको छ ।
पटक–पटक उद्योगीहरूले नदीमा फोहोर नफाल्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा पालना नगर्दा सिर्सिया अझै फोहोर बन्दै गएको भन्दै महानगरले सम्बन्धित निकाय, उद्योगी, सुरक्षा निकाय र स्थानीय तहका प्रतिनिधिलाई छलफलमा सहभागी गराएको हो ।
अविरल वर्षापछि नदी केही सफा देखिए पनि उद्योगहरूबाट निस्कने फोहोर पानीका कारण समस्या पुनः दोहोरिने खतरा रहेको मेयर राजेशमान सिंहले बताउनुभयो । उहाँले उद्योगीहरुले ट्रिटमेन्ट प्लान्ट हुँदाहुँदै पनि सञ्चालन नगरी फोहोर सोझै नदीमा फाल्ने प्रवृत्ति जारी रहेकाले अब केवल प्रतिबद्धतामा सीमित नरहेर ठोस नतिजा देखिनुपर्ने बताउनुभयो ।
‘कारखाना निर्वाध चल्नुपर्छ, तर प्रदूषण नियन्त्रण अनिवार्य छ,’ मेयर सिंहले भन्नुभयो, ‘अब सबै जिम्मेवार भएर अघि बढे मात्रै सिर्सिया सफा हुन्छ ।’
उहाँका अनुसार उद्योगीहरूले पटक–पटक सम्झौता तोडेकाले महानगरले जरिवाना र फोहोर उद्योगमै थुपार्ने जस्ता कारबाहीसमेत गरेको भए पनि अझै अटेरी भइरहेको छ । ‘कारखाना बन्द गर्ने होइन, प्रदूषण रोक्ने वातावरण बनाउने हाम्रो उद्देश्य हो,’ उहाँको भनाइ थियो ।
पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सिर्सिया नदीलाई मानव सभ्यताको प्रतीक भन्दै यसको संरक्षण सबैको साझा दायित्व रहेको बताउनुभयो । उहाँले अटेरी गर्ने उद्योगहरूलाई चेतावनी दिँदै भन्नुभयो, ‘यदि अब पनि फोहोर फाल्ने क्रम रोकिएन भने ट्रिटमेन्ट प्लान्ट बनाउनै पर्ने, नभए उद्योग बन्द गर्नुपर्ने अवस्था आउन सक्छ ।’
यस्तै बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले उद्योग स्थापनाको अनुमति दिने बेलामै प्रदूषण नियन्त्रणको दायित्व उल्लेख गरिएको भए पनि त्यसको पालना नभएको औंल्याउनुभयो । ‘जथाभावी नदीमा प्रदूषित पानी मिसाउनु दण्डनीय कार्य हो,’ उहाँले चेतावनी दिनुभयो ।
मधेस प्रदेश उद्योग विभागका महानिर्देशक सुशील साहले उद्योग सञ्चालन र वातावरण संरक्षण सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिनुभयो । ‘केवल प्रतिबद्धताले होइन, व्यवहारिक कार्यान्वयनले मात्रै परिणाम देखिन्छ,’ उहाँले भन्नुभयो । उद्योग वाणिज्य संघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले सबै सरोकारवाला इमानदार भएर लागे समस्या समाधान सम्भव रहेको बताउनुभयो । वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले दीर्घकालीन समाधानका लागि एकीकृत ट्रिटमेन्ट प्लान्ट निर्माण गर्न सुझाव दिनुभयो । ‘उद्योगीहरू लगानी गर्न तयार छन्, तर नियमित अनुगमन हुनुपर्छ,’ उहाँले भन्नुभयो ।
जितपुर सिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले छलफलमा उद्योगीहरूको उपस्थिति कम भएकोमा चिन्ता व्यक्त गर्दै सिर्सिया नदीलाई सफा र आकर्षक बनाउन पर्यटनसँग जोडेर योजना अघि बढाउन सुझाव दिनुभयो । ‘जितपुरको ललका पुलदेखि वीरगंजसम्म डुङ्गा चलाउने वातावरण बनाऔं, त्यसपछि उद्योगीले पनि फोहोर फाल्ने काम रोकिनेछ,’ उहाँको भनाइ थियो ।
परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले ‘उद्योग बचाउँदै नदी सफा राख्ने’ वातावरण बनाउन आफ्नो पालिका तयार रहेको बताउनुभयो ।
जितपुर सिमरा उपमहानगरपालिकाका उप–प्रमुख भोला प्रसाद अधिकारीले वीरगंजका मेयर राजेशमान सिंहको नेतृत्वमा सुरु भएको सिर्सिया सफाइ अभियान आजसम्म निरन्तर रहनु सकारात्मक पक्ष भएको बताउँदै तीनै स्थानीय तहले संयुक्त रुपमा नदी संरक्षणमा काम गरिरहेको जानकारी दिनुभयो । उहाँले नन्दन र गणपति घ्यु उद्योगलगायतका केही उद्योगबाट ट्रिटमेन्ट प्लान्ट हुँदाहुँदै पनि प्रदूषित पानी निस्किरहेको र हुलास स्टिल तथा अशोक स्टिल जस्ता ठूला उद्योगहरूले नालाबाट फोहोर पानी सोझै सिर्सियामा मिसाउने गरेको बताउनुभयो ।
छलफलमा सहभागी उद्योगीहरूले आफूहरू पनि नदी सफा रहोस् भन्ने पक्षमै रहेको बताउँदै पानी प्रशोधनका उपायमा काम भइरहेको जानकारी दिएका थिए ।
छलफलमा सरोकारवालाहरूले सर्वसम्मत रूपमा सिर्सिया सफाइलाई प्राथमिकता दिने, प्रदूषण नियन्त्रणका लागि ठोस कार्ययोजना बनाउने र नियमित अनुगमनलाई प्रभावकारी बनाउने निष्कर्ष निकालेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here