काठमाडौँ, २० कार्तिक ।
सङ्घीय युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासँग पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंहको नेतृत्वमा मन्त्रालय पुगेको जेन–जी युवा तथा सरोकारवालाहरूको टोलीले क्रिकेट र खेलकुद पूर्वाधार विकासका विविध विषयमा विस्तृत छलफल गरेको छ।
छलफलमा उठाइएका मागहरूमा मन्त्री गुप्ताले पूर्ण सकारात्मक प्रतिक्रिया दिँदै तत्काल प्रक्रिया अगाडि बढाउने आश्वासन दिएका छन्।
छलफलका क्रममा अध्यक्ष मनिष सिंहले वीरगञ्जको नारायणी रङ्गशालासँगै जोडिएको टिबी साह क्रिकेट मैदानको स्तरोन्नतिको आवश्यकता औंल्याउँदै मैदान स्थानीय तथा राष्ट्रिय खेलाडीहरूको अभ्यास केन्द्र भएको बताए। उनले मैदानको विस्तार र मुआब्जा प्रक्रिया टुंग्याउन आग्रह गर्दै मधेस प्रदेशको खेलकुद विकासमा यसले ठुलो योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।
त्यस्तै सिंहले नारायणी रङ्गशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन, आगामी ११औँ राष्ट्रिय खेलकुद मधेस प्रदेशमा सफलतापूर्वक आयोजना गर्न पूर्वाधार तयार पार्न, प्रत्येक सरकारी विद्यालयमा खेलकुद प्रशिक्षक नियुक्त गर्न, खेलाडीका लागि पोषणयुक्त आहारको व्यवस्था गर्न र वीरगञ्जकै आदर्शनगर रङ्गशालाको स्तरोन्नति गर्न माग अघि सारे।
मन्त्री गुप्ताले युवाहरूका सबै जायज माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै भने, “टिबी साह मैदानको मुआब्जा प्रक्रिया छिट्टै टुंग्याएर काम सुरु गर्छौँ, नारायणी रङ्गशालालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउनेछौँ र ११औँ राष्ट्रिय खेलकुदका लागि मधेसमा पूर्वाधार निर्माणमा कुनै कसर बाँकी राख्दैनौँ।” उनले विद्यालयस्तरका खेलकुद प्रशिक्षक नियुक्ति र खेलाडीहरूको पोषण व्यवस्थालाई पनि प्राथमिकतामा राख्ने बताए।
छलफलमा सहभागी जेन–जी युवाहरूमा आशिष् गुप्ता, रोमी खान, विनय गिरी, विक्की सर्राफ, सुशान्त साह, रोहित साह, सुमित गुप्ता, मुर्तुजा हावारी र रजत पाण्डे रहेका थिए।
सिंहले मन्त्री गुप्ताको प्रतिबद्धताले मधेस प्रदेशको खेलकुद क्षेत्रमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गर्दै छलफलले स्थानीयदेखि राष्ट्रिय खेलकुद विकाससम्म सकारात्मक प्रभाव पार्ने अपेक्षा व्यक्त गरे।
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here