वीरगञ्ज ११ फागुन। वीरगञ्जको श्रीपुर लगायतका क्षेत्रमा देखिएको तनावपूर्ण गतिविधिका कारण स्थिति थप नभड्कियोस् भनेर स्थानीय प्रशासनले सोमबार बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले पछिल्लो सुरक्षा अवस्थाको गम्भीर समीक्षा गर्दै महानगरका मुख्य सहरी क्षेत्रहरूमा कर्फ्यु लगाउने निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी (प्रजिअ) द्वारा जारी सूचना अनुसार आज बिहान ९:४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लागू रहनेछ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम शान्ति सुरक्षा कायम राख्न यो कठोर कदम चालिएको प्रशासनले जनाएको छ ।
प्रशासनले वीरगञ्ज महानगरपालिकाका पूर्वमा बाइपास सडक, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेट (नेपाल–भारत सीमा) पर्ने क्षेत्र निर्धारण गरेको छ।
कर्फ्यु अवधिभर तोकिएको क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न, जुलुस निकाल्न, सभा-सम्मेलन गर्न, धर्ना बस्न वा घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ।
कर्फ्यु जारी भए पनि मानवीय संवेदनशीलता र अत्यावश्यक कार्यका लागि प्रशासनले केही क्षेत्रमा सहजीकरण गर्ने जनाएको छ । एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, र मानवअधिकारकर्मीका सवारीसाधनलाई आवागमनमा रोक लगाइने छैन ।
त्यस्तै, पूर्वनिर्धारित परीक्षाका परीक्षार्थी र कर्मचारी, पर्यटक सवारीसाधन, कूटनीतिक नियोगका सवारी र वैध हवाई टिकट भएका यात्रुहरूलाई सुरक्षा निकायले पहिचानका आधारमा गन्तव्यसम्म पुग्न सहयोग गर्ने प्रजिअद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
जिल्ला प्रशासन कार्यालय पर्साले सामाजिक सद्भाव कायम राख्न र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै सबै नगरवासीलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ । आदेशको उल्लंघन गर्ने वा सुरक्षा कार्यमा अवरोध पुर्याउने जोकोहीलाई पनि कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ।
प्रतिक्रिया लेख्नुहोस्
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Create an account
Create an account
Welcome! Register for an account
A password will be e-mailed to you.
Password recovery
Recover your password
A password will be e-mailed to you.






















