वीरगञ्ज । वीरगञ्जको श्रीपुर क्षेत्रमा आइतबार साँझ भएको घटनापछि दुई धार्मिक समुदायबीच देखिएको तनाव नियन्त्रण र सद्भाव पुनःस्थापना गर्न सर्वपक्षीय पहल अघि बढाइएको छ। सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले परिस्थितिलाई सामान्य बनाउन ठोस सहमति गरेको हो।
सद्भाव समितिको समन्वयमा सम्पन्न उक्त बैठकमा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, सुरक्षा निकायका अधिकारीहरू, राजनीतिक दलका प्रतिनिधि तथा हिन्दु–मुस्लिम समुदायका अगुवाहरू सहभागी भए। छलफलबाट घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही अघि बढाउने, पीडित पक्षबाट जाहेरी दर्ता गराई प्रक्रिया छिटो अघि बढाउने सहमति जुटेको छ। दोषी पहिचान र कारबाहीमा धार्मिक नेतृत्वले पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
बैठकले व्यक्तिगत प्रकृतिको घटनालाई धार्मिक वा सामाजिक द्वन्द्वमा रूपान्तरण गर्ने प्रयास नगर्न सबैलाई सचेत गराएको छ। सामाजिक सञ्जालमार्फत भ्रामक सूचना, दुष्प्रचार वा घृणास्पद अभिव्यक्ति फैलाउनेहरूलाई साइबर कानुनसहित प्रचलित कानुनअनुसार कडाइका साथ कारबाही गरिने स्पष्ट पारिएको छ।
साथै, आगामी दिनमा सामाजिक सद्भाव सुदृढ बनाउन नागरिक समाज, राजनीतिक दल, सञ्चारकर्मी तथा धार्मिक अगुवाहरूले संयमित अभिव्यक्ति र एकताको सन्देश प्रवाह गर्ने साझा प्रतिबद्धता जनाएका छन्। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सोमबार बिहानदेखि जारी कर्फ्यु आदेश हटाउने समझदारी समेत बैठकबाट भएको छ।
स्थानीय प्रशासनले वीरगञ्जमा शान्ति, आपसी विश्वास र सहकार्यको वातावरण कायम राख्न सबै पक्षलाई जिम्मेवार र संयमित भूमिका निर्वाह गर्न आह्वान गरेको छ। [image: cb4b2f32-3a0d-47db-a6de-9d1b7e3d9c25.jpg]

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here