काठमाडौँ, १८ भदौ । खानेपानी मन्त्री प्रदीप यादवले राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता नीति, २०८० अनुसार नेपाल सरकारले विक्रम संवत् २१०० सम्म सम्पूर्ण नेपाली नागरिकलाई सुरक्षित खानेपानी तथा सरसफाइ सेवा उपलब्ध गराउने लक्ष्य लिएको जानकारी गराउनु भएको छ ।

मङ्गलवार आयोजित राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभा सदस्य मदन कुमारी शाह (गरिमा) ले गर्नुभएको प्रश्नको उत्तर दिनुहुँदै मन्त्री यादवले नेपाल सरकारले विक्रम संवत् २१०० सम्म सम्पूर्ण नेपाली नागरिकलाई सुरक्षित खानेपानी तथा सरसफाइ सेवा उपलब्ध गराउने लक्ष्यलाई हासिल गर्नका २४ वटा रणनीति तथा कार्यनीतिहरू तयार पारेको जानकारी गराउनु भएको हो ।

सभालाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले भन्नुभयो, ‘खानेपानी तथा सरसफाइ सेवा नागरिकको पहुँचसम्म पुर्‍याउने सरकारको प्राथमिकता नेपाल संविधानमा तीन तहको सरकारको साझा अधिकारको सूचिमा समावेश गरिएको छ । हालसम्मको प्रगति अनुसार, आर्थिक वर्ष २०७९/८० सम्म ९४.९३% जनसङ्ख्यामा आधारभूत स्तरको खानेपानी सेवा पुर्‍याइएको छ भने सत प्रतिशत जनसङ्ख्यामा आधारभूत स्तरको सरसफाइ सुविधा उपलब्ध गराइएको छ । यसका साथै, २५.८१% जनतामा उच्च तथा मध्यम स्तरको खानेपानीमा पहुँच पुर्‍याइएको छ ।’ 

त्यसै गरी मन्त्री यादवले मन्त्रालयको अल्पकालीन र मध्यकालीन योजनाहरूमा मेलम्चीको पानी काठमाडौँ उपत्यकामा उपलब्ध गराउने योजना प्रमुख रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जल तथा मौसम विज्ञान विभागसँग समन्वय गरी मनसुन सक्रिय हुन छाडेपछि वैकल्पिक पथान्तरण सुरुङको मर्मत कार्य सम्पन्न गरी असोज महिनाभित्र मेलम्चीको पानी काठमाडौँ उपत्यकामा उपलब्ध गराइनेछ । साथै, मेलम्चीको पानी नियमित आपूर्ति नहुँदा बागमती तथा धाप ड्यामको पानी सुन्दरीजल प्रशोधन केन्द्रमार्फत प्रशोधन गरी आपूर्ति भइरहेको छ ।’

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here