पोखरिया, २१ असोज/
पोखरिया नगरपालिकास्थित जिल्ला अस्पताल पोखरियामा असोज १३ गते आइतवारदेखि राष्ट्रिय मुक्ति क्रान्ति अभियानले शुरू गरेको अनिश्चिकालीन धर्ना आइतवार आठौं दिन पनि जारी रह्यो ।

अभियानका केन्द्रीय सदस्य नेजामुद्दीन समानीको नेतृत्वमा आज पनि दिउँसो १–३ बजेसम्म दुई घण्टा धर्ना दिइएको थियो । पोखरिया अस्पताललाई प्रादेशिक अस्पताल घोषणा गरिएको तर कार्यान्वयनमा नल्याएको, जिल्ला प्रशासन, भूमिसुधार तथा मालपोत र नापी कार्यालयका सेवा केन्द्र स्थापना हुनुपर्ने मागहरू राखी दशैंको टीकापछि अनिश्चिकालीन २४ घण्टे धर्ना शुरू हुने नेता समानीले बताए । उनले असोज २३ गतेसम्म हाल चालू दुई घण्टे अनिश्चितकालीन धर्ना जारी रहने र त्यसपछि टीकाको भोलिपल्ट असोज २७ गतेदेखि २४ घण्टे धर्ना शुरू हुने बताए ।

उनले वीरगंज केन्द्रित सरकारी कार्यालयहरूका सेवा केन्द्र स्थापनाका लागि बारम्बार प्रदेश र सङ्घ सरकारको ध्यानाकर्षण गराउँदै आएको तर आश्वासन मात्र पाएको तथा कार्यान्वयन नभएको भन्दै अनिश्चिकालीन धर्नाको विकल्प नभएको बताए ।

उनले पोखरिया अस्पतालको भवन, जगतपुरमा बर्थिङ सेन्टर भवन अहिलेसम्म आधा अधूरो अवस्थामा राखिएको र पूरा गराउनका लागि दबाबस्वरूप धर्ना दिएको जानकारी गराए । उनले पोखरिया नगरपालिकामा पनि पछिल्ला समयमा बेथिति बढेको र त्यसको विरोधमा पनि अनिश्चितकालीन धर्ना गरिएको बताए । कर्मचारीहरूको अनधिकृत भर्ना, तलब सुविधा वितरणमा ढिलासुस्ती, ठेकेदारहरूको भुक्तानीमा विलम्ब अनि विकास निर्माण योजनाहरू लथालिङ्ग भताभुङ्ग अवस्थामा राखेर आर्थिक अनियमितता भएको महसूस गरी आन्दोलनमा उत्रिएको नेता समानीले बताए ।

उनले आफ्ना मागहरूको सम्बन्धमा सङ्घ सरकारका मन्त्रीहरू अथवा मधेस प्रदेशका मुख्यमन्त्रीले सम्बोधन गर्नुपर्ने अडान लिएका छन् ।

यसैबीच, अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई ५० शøयाको प्रादेशिक अस्पताल सञ्चालनका लागि बजेट विनियोजन भएको सूचना दिएको र सोही अनुरूप स्वास्थ्य मन्त्रालयले प्रादेशिक अस्पताल सञ्चालनको लागि पहल शुरू गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here