फोटो : इन्टरनेट

बारा, २५ माघ । बाराको कलैयामा रहेको कृषि सामग्री संस्थानको गोदाममा अनुदानको मल भरिभराउ छ । तर किसानले भने हिउँदे बालीका लागि मल पाउन सकेका छैनन् । जसका कारण तीन महिनाअघि लगाइएको मकै समय अनुसार सप्रिन पाएको छैन ।

धानबाली भित्र्याएलगत्तै हिउँदे मकै लगाएका किसान यतिबेला मलका लागि भौतारिरहेका छन् । मकैका लागि डिएपी र पोटास मल आवश्यक पर्छ ।

किसानले जसोतसो सीमापार गएर बीउको जोहो गरेर कात्तिक मंसिरमा रोपेका थिए । अहिले मल नपाउँदा समयअनुसार बढ्नुपर्ने मकैको बोट बढ्न नपाएको सिम्रनगौढ नगरपालिका–८ का किसान कमलेशप्रसाद यादवले बताए ।

‘मल नपाएपछि तीन महिनाअघि रोपेको मकै सप्रिन सकेको छैन’, उनले भने । अरु किसानको समस्या पनि उस्तै छ । भारतबाट अवैध बाटो हुँदै ल्याएको मल महँगो पर्छ । सस्तो खोज्दै जाँदा बजारमा गुणस्तरहीन मल किन्नुपर्ने बाध्यता रहेको किसानको भनाइ छ ।

‘मलका लागि भारतीय बजारकै भर पर्नुपर्ने बाध्यता छ,’ कमलेशले भने, ‘त्यो पनि महँगो पर्छ । नेपाली अनुदानको मल भने आवश्यकताअनुसार पाइँदैन ।’ प्रतिकठ्ठा तीन किलोको दरले डिएपी र पोटास मल आवश्यक पर्ने उनको भनाइ छ ।

‘एक हेक्टर अर्थात् डेढ बिघामा यी दुवै मल ९० किलोजति आवश्यक पर्छ,’ उनले भने । सिम्रौनगढ नगरपालिका–११ भगवानपुरका अशोकप्रसाद जयसवालले एक बिघा जमिनमा मकै लगाएका छन् । तीन महिना भइसक्दा पनि मल अभावले बोटले आवश्यकताअनुसार हुर्किन नपाएको उनी बताउँछन् । उनले भने, ‘६ महिनामै मकै भित्र्याउन लायक भइसक्छ । आधा समय त बितिसक्यो, अझै बढ्नुपर्नेजति बोटको उचाई बढ्न सकेको छैन ।’

नेपाली अनुदानको मल प्रतिबोरा (५० केजी) २ हजार २ सय ५० रुपैयाँमा पाइन्छ । भारतीय मल भने एक बोरा (४५ केजी) ३ हजारसम्म पर्छ । ‘अनुदानको मल कृषि सामग्री संस्थानबाट कोटा प्रणालीले डिलरमा थोरै आउँछ, त्यसमा पनि साना किसानले पाउँदैनन् । सबै पहुँचवालाले नै पाउँछन्,’ उनले भने ।

अनुदानको मल लिनका लागि स्थानीय तहले सिफारिस पठाउनुपर्छ । मल लैजानका लागि पालिकाहरुलाई पत्राचार गरिए पनि सिफारिस नआउँदा किसानसम्म मल नपुगेको संस्थानका प्रमुख रविकुमार केसरीले बताए ।

बाराका १६ वटा पालिकाका २ सय ४६ सहकारी (बिक्रेता)लाई डिलर तोकेर मल वितरण गर्ने गरिएको छ । ‘मल लैजान पालिकाहरुमा पत्राचार गरिएको छ, तर कुनै पालिकाबाट कोटाअनुसारको मल लैजान डिलरलाई सिफारिस गरेर दिएको छैन’, संस्थानका प्रमुख केसरीले भने ।

अहिलेको ‘लट’मा ६ सय ६७ टन (१३ हजार ३ सय ४० बोरा) डिएपी र ४ सय बोरा पोटास मल गोदाममा राखिएको छ । सरकारले टेन्डरमार्फत् मल खरिद गरी साल्ट ट्रेडिङ र कृषि सामग्री संस्थानबाट उपलब्ध गराउने गरेको छ । तर पालिकाले सिफारिस नदिँदा अनुदानको मल नपाएपछि किसान भारतीय बजारबाट महँगोमा मल ल्याएर खेतमा हाल्न बाध्य छन् ।

कृषि ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ गणेश महराका अनुसार बारामा हिउँदको समयमा ६ हजार हेक्टरमा मकै खेती हुने गरेको छ । उनका अनुसार हिउँदे मकैको उत्पादकत्व बढी हुन्छ । प्रतिहेक्टर ६ दशमलव ४ मेट्रिक टनको दरले उत्पादन हुने गरे पनि यसपटक मल अभावका कारण त्यो अनुसारको उत्पादन नहुने किसानको चिन्ता छ । साभार :इकान्तिपुर

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here