वीरगंज, २७ जेठ – मधेसका जिल्लाहरुमा अहिले अत्यधिक गर्मी छ। गर्मीका कारण विद्यार्थीहरू बेहोस हुन थालेपछि बारा जिल्लाको कलैया उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका सबै विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।
नेरामाबि, कलैया-१४ मा अध्ययनरत कक्षा १० की एकजनाछात्रा चर्को गर्मीले बेहोस भएपछि बिद्यालय प्रसाशनले कलैया अस्पतालमा भर्ती गरेको थियो ।
अत्यधिक गर्मीको कारण विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकूल असर परिरहेकोले कलैया उपमहानगरपालिकाले एक सूचना जारी गर्दै नगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू जेठ २८ गतेदेखि ३० गतेसम्म बन्द रहने जनाएको हो ।
कलैया उपमनपाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख राजिवकुमार यादवले सूचना जारी गर्दै अत्यधिक बढ्दो गर्मीका कारण विद्यार्थीहरूमा समस्या देखिन थालेकाले विद्यालय बन्द गर्नुपरेको र असार १ गतेदेखि पुनः नियमित रूपमा सञ्चालन गर्न अनुरोध गरेका छन् । मधेशका जिल्लामा विगत दुई दिनदेखि अत्यधिक गर्मी चर्केको छ ।

























