कार्यक्रमको उद्घाटन गर्दै बहुदरमाई नपाकी उप–मेयर सुष्मा कुशवाहा। तस्विर : सौजन्य

वीरगंज, २९ जेठ — पर्साको बहुदरमाई नगरपालिकाको आयोजनामा दोस्रो उप–मेयर क्रिकेट कप प्रतियोगिता एक कार्यक्रमका बीच आज भव्य रूपमा उद्घाटन गरिएको छ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि एवं उप–मेयर सुष्मा कुशवाहाले गरेकी हुन्। उद्घाटन समारोहमा बोल्दै उप–मेयर कुशवाहाले वडा नम्बर ३ का खेलाडीहरू प्रतियोगितामा सहभागी नभएकोप्रति दुःख व्यक्त गरिन्। उनले भनिन्, “हार–जित त प्रक्रिया हो, तर सबै खेलाडीमा जितको हौसला हुनु आवश्यक छ।”

उनले कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग गरिएको प्रतिबद्धता अनुसार खेल मैदान अगाडिको पुल निर्माणका लागि पास भइसकेको जानकारी दिइन्। “अब चाँडै काम सुरु हुनेछ,” उनले भनिन्, “यो मैदानको स्तरोन्नतिको लागि पनि हामीले पहल गरिरहेका छौँ र भविष्यमा यसलाई अझ व्यवस्थित बनाउने प्रतिबद्धता लिएका छौँ।”

उद्घाटन कार्यक्रममा एमाले नगर कमिटी अध्यक्ष प्रमोद कुशवाहा, प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तव, वडा अध्यक्ष दिनेश प्रसाद यादव, सुरेन्द्र यादव, सुनिल कुशवाहालगायत जनसमुदायको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन