काठमाडौँ, १३ असार — राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा प्रकाशनको अन्तिम तयारीमा जुटेको छ। बोर्डले केही बेरअघि मात्र परीक्षा नियन्त्रण कार्यालयसँग नतिजा तयारीबारे ब्रिफिङ लिएको छ।
बोर्ड स्रोतका अनुसार केही प्राविधिक कामहरू बाँकी रहेका कारण साँझ ५ बजे बस्ने बोर्ड बैठकले आजै नतिजा सार्वजनिक गर्ने कि नगर्ने निर्णय लिनेछ।
एसईई नतिजा असार ६ गतेभित्रै प्रकाशन गर्ने प्रारम्भिक कार्यतालिका तय गरिएको भए पनि, शिक्षक आन्दोलनका कारण यस वर्ष ढिलाइ भएको हो। गत चैत २० देखि वैशाख १७ गतेसम्म शिक्षकहरू काठमाडौँमा निरन्तर आन्दोलनमा थिए, जसले नतिजा सम्पादनको प्रक्रिया प्रभावित बनायो।
गत चैत ७ देखि १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा देशभरबाट करिब ५ लाख १० हजार विद्यार्थी सहभागी भएका थिए।
























