वीरगंज, २५ असार — वीरगंज महानगरपालिका अहिले इतिहासकै गम्भीर पानी संकटसँग जुधिरहेको छ। लामो समयदेखि देखा पर्दै आएको भू–जलको सतह घट्दै जानु, चापाकलहरू सुक्न थाल्नु र वैकल्पिक स्रोतको अभावले गर्दा यहाँको जनजीवन असहज बनेको छ। खानेपानी जुटाउन स्थानीय बासिन्दाले बिहानदेखि बेलुका सम्म प्रयास गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
यस संकटलाई बुझ्दै वीरगंज महानगर प्रमुख राजेशमान सिंह आफैं टंकी र ट्यांकरसहित बस्तीबस्ती पुगेका छन्। मंगलबार साँझ वडा नं. ११ अन्तर्गत विद्यापति नगर, श्रीपुर, रानीघाट लगायत पानी अभावले पिल्सिएका टोलहरूमा पुगेर उनले पीडितहरूसँग संवाद गरे र पानी वितरण सुरु गरे।
“वीरगंजवासीलाई पानीको अभावमा राखिन्न। जहाँ समस्या छ, त्यहाँ तत्काल समाधानको प्रयास गर्नेछौं,” मेयर सिंहले बस्तीमा भनेका छन्। उनका अनुसार समस्या ३२ वटै वडामा रहेको छ र सबै वडामा समान रूपमा राहत पुर्याउन संयन्त्र परिचालन गरिएको छ।
महानगरपालिकाले पानी अभाव भएका स्थानहरूमा १० हजार, ५ हजार र २ हजार लिटर क्षमताका प्लास्टिक ट्यांकीहरू राख्न थालेको छ। ती ट्यांकीहरूमा पानी भर्नका लागि ५ वटा ट्यांकर र ३ वटा दमकल चौबीसै घण्टा परिचालित छन्।
प्रत्येक वडामा स्थानीय प्रतिनिधि, कर्मचारी र स्वयंसेवकमार्फत तालिकाबद्ध रूपमा पानी वितरण कार्य सुरु भएको छ। संकटग्रस्त बस्तीहरूमा बिहान, दिउँसो र साँझ तीनवटा पालोमा पानी आपूर्ति गर्न प्रयास भइरहेको छ।
महानगरले तत्काल राहतसँगै दीर्घकालीन समाधानका योजनाहरू पनि अघि सारेको छ। भू–जल पुनर्भरणका लागि रिचार्ज पिट निर्माण, वर्षा पानी संकलन प्रणालीको विकास, सार्वजनिक जल भण्डारण ट्यांकीहरू निर्माण र वैकल्पिक जल स्रोतहरूको पहिचानका लागि योजना निर्माण भइसकेको मेयर सिंहले जानकारी दिए।
“तत्काल राहत मात्र होइन, दीर्घकालीन समाधानको खाका तयार पार्दैछौं,” मेयर सिंहले अभितक मिडियासँगको कुराकानीमा बताए।
पानी संकट अहिले वीरगंजको मात्र नभई देशकै ध्यानाकर्षणको विषय बनेको छ। यस्तो गम्भीर अवस्थामा स्थानीय सरकार, नागरिक र सरोकारवाला निकायहरूबीचको सहकार्य, संयमता र योजनाबद्धता नै दीर्घकालीन समाधानको बाटो हो भन्ने कुरा प्रष्ट देखिएको छ।
महानगरले तत्काल राहत र दीर्घकालीन योजना दुवैलाई सँगसँगै अघि बढाउँदै संकट व्यवस्थापनको उदाहरण प्रस्तुत गरेको छ। अब जनताको धैर्यता र सहकार्यले मात्रै यस संकटबाट निकास खोज्न सकिन्छ।
नागरिकहरूको पीडा अभितक मिडियामा
अभितक मिडियाले वीरगंजका विभिन्न क्षेत्रहरूमा पुगेर बासिन्दाहरूको गुनासो प्रसारण गरेको थियो। विद्यापति नगरका एक स्थानीय बासिन्दा भन्छन्, “पानीको जोहो गर्न बिहान ४ बजे उठ्नुपर्छ। कतिपय दिन पानी पाइँदैन। यो पीडा लामो समयदेखि झेल्दै आएका छौं।”
श्रीपुरका अर्का स्थानीय भन्छन्, “चापाकल सुकिसके। पानीका लागि दैनिक २ देखि ३ घण्टा लाइन बस्नुपर्छ।”

























