वीरगंज, २६ असार — वीरगंज महानगरपालिकामा चुलिंदो खानेपानी सङ्कटको दीर्घकालीन समाधान खोज्न बिहीवार सर्वपक्षीय छलफल सम्पन्न भएको छ।
महानगर प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बसेको छलफलमा सङ्घीय सरकार, स्थानीय तह, राजनीतिक दल, सुरक्षा निकाय तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो। छलफलमा महानगर प्रमुख सिंहले हाल पानीको अभाव भएका क्षेत्रहरूमा टंकी र ट्यांकरमार्फत आपूर्ति भइरहेको जानकारी गराउँदै, धारा जडान प्रोत्साहन कार्यक्रम र विभिन्न वडामा डिप बोरिङको पहल भइरहेको विवरण प्रस्तुत गरे।
खानेपानी मन्त्री प्रदीप यादवले वीरगंजमा खानेपानी समस्या गम्भीर भएको स्वीकार गर्दै समाधानका लागि सङ्घीय सरकारले स्थानीय तहसँग सहकार्य गरी स्रोत परिचालन, प्राविधिक सहायता र दीर्घकालीन योजना निर्माणमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए। उनले वीरगंजको समस्या समाधान संघीय सरकारको प्राथमिकतामा रहेको स्पष्ट पारे।
छलफलमा रास्वपाका जिल्ला अध्यक्ष हरि पन्तले धारा जडान गर्दा वडा कार्यालयमा लाग्ने दस्तुर केही समयका लागि निशुल्क गराउन माग गर्नुभयो र थुप्रिएका धारा जडान निवेदनहरू शीघ्र प्रक्रियामा लैजान आग्रह गरे।
यसैगरी, नेपाली काङ्ग्रेस वीरगंज नगर सभापति मणिन्द्रलाल श्रेष्ठले पाइपलाइन सुविधा भएका स्थानहरूमा पाइपबाटै आपूर्ति सुनिश्चित गर्नुपर्ने र सुविधा नभएका स्थानहरूमा मात्रै डिप बोरिङ गर्नुपर्ने सुझाव दिए।
यसैगरी, नेकपा (एस) का नेता बालगोपाल थापाले महानगरले नक्सा पास प्रक्रियामा अण्डरग्राउण्ड टंकी अनिवार्य राख्ने व्यवस्था गर्न जोड दिए। उनले दीर्घकालीन समाधानका लागि कडाइ गर्नुपर्ने आवश्यकता औँल्याउँदै भविष्यमा पुनः यस्ता सङ्कट दोहोरिन नदिन उपायहरू अवलम्बन गर्नुपर्ने धारणा राखे।
छलफलमा सहभागीहरूले पानी वितरण प्रणालीमा कुनै पनि प्रकारको राजनीतिक पहुँच, सिफारिस वा दबाबका आधारमा हुन सक्ने सम्भावित भेदभावलाई पूर्णरूपमा रोक्नुपर्नेमा सहमति जनाएका छन्।
महानगरले हालसम्म गरेका पहलहरू सराहनीय भए तापनि ती प्रयासहरू अझ व्यवस्थित, सुदृढ र दीर्घकालीन समाधानको लागि केन्द्रित हुनुपर्ने आवश्यकता पनि छलफलमा औँल्याइएको छ।
यस छलफलले खानेपानी समस्यालाई सुविधा वा सेवा होइन, नागरिक अधिकारका रूपमा सम्बोधन गर्न थालिएको सकारात्मक सङ्केत दिएको सहभागीहरूको निष्कर्ष थियो।

























