वीरगंज, ३२ असार – हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार, आज देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहनेछ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। त्यस्तै, कोशी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि अत्यधिक भारी वर्षा हुन सक्ने सम्भावना छ। मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना व्यक्त गरिएको छ।

विज्ञापन

देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ। साथै, कोशी प्रदेशको तराई क्षेत्र र मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरीसमेत चल्न सक्ने चेतावनी दिइएको छ।

आज रातिको मौसम पूर्वानुमानअनुसार, देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षा पनि हुन सक्ने विभागको भनाइ छ।

देशभर मनसुन सक्रिय रहेको बताउँदै विभागले सावधानी अपनाउन आह्वान गरेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ सरदर स्थानको केही उत्तरमा सक्रिय रहेको जानकारी दिइएको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here