तस्वीर : सौजन्य

वीरगंज​, ०५ भदौ ​-​ वीरगंज महानगरपालिकाले नगरभित्रका मठ–मन्दिर, मस्जिद, चैत्य–गुम्बा लगायत सम्पदाहरूको संरक्षणलाई संस्थागत रूपमा अघि बढाउने भएको छ। यसका लागि महानगरले विशेष सम्पदा संरक्षण तथा व्यवस्थापन समिति गठन गरी औपचारिक रूपमा काम प्रारम्भ गरेको हो।

महानगरले ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वका सम्पदाहरूको दीगो संरक्षण गर्ने उद्देश्यसहित सम्पदा व्यवस्थापन सम्बन्धी ऐन निर्माण गरी कार्यान्वयनमा ल्याएको छ। अब ३२ वटै वडामा रहेका सम्पूर्ण धार्मिक स्थलहरूको अभिलेख संकलन गरी अनिवार्य रूपमा सूचिकृत गर्ने तयारी भइरहेको महानगरले जनाएको छ।

विज्ञापन

यसका लागि प्रत्येक वडा कार्यालयमार्फत धार्मिक सम्पदाको तथ्यांक संकलन सुरु हुनेछ। अभिलेख संकलन सम्पन्न भएपछि सम्पदाहरूलाई सूचिकृत गरी दीर्घकालीन संरक्षण र संवर्द्धन योजना अघि बढाइनेछ।

सम्पदा संरक्षण समितिको संयोजकमा महानगर प्रमुख राजेशमान सिंह रहेका छन्। समितिमा उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, वडा अध्यक्ष जगतसाह कानु, प्रदीप चौरसिया, कलावती राजपुतिन, श्रीनन्दन मिश्र र जय किशोर पाण्डे सदस्य रहेका छन्।

शाखा अधिकृत सुशीला देवकोटा सदस्य–सचिवको जिम्मेवारीमा नियुक्त भएकी छन्। समितिका सदस्यहरूलाई आज एक औपचारिक कार्यक्रमबीच पत्र हस्तान्तरण गरी जिम्मेवारी प्रदान गरिएको हो।

महानगर प्रमुख सिंहका अनुसार अब सबै धार्मिक सम्पदाहरू अनिवार्य रूपमा सूचिकृत हुनेछन्। हाल व्यक्तिगत स्वार्थअनुसार मनपरी ढंगले सञ्चालन हुँदै आएका मठ–मन्दिर, मस्जिद तथा गुम्बाहरूलाई नियमन गर्ने र भक्तजनले चढाएको दान–चन्दा दुरुपयोग हुन नदिन कडा प्रावधान लागू गरिने उनले बताए।

“हाम्रो उद्देश्य सम्पदाको संरक्षण मात्र होइन, पारदर्शिता र धार्मिक संस्थाहरूको दीगो विकास सुनिश्चित गर्नु हो। भक्तजनले दिएको दान–चन्दा त्यही सम्पदाको संरक्षण तथा संवर्द्धनमै खर्च हुने वातावरण बनाउनुपर्छ,” मेयर सिंहले भने।

समितिले आगामी दिनमा प्रत्येक वडामा रहेका सम्पदाको लगत सङ्कलन गरी सार्वजनिक गर्ने र त्यसकै आधारमा संरक्षण तथा व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ। यसबाट धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको दीर्घकालीन संरक्षण हुने अपेक्षा गरिएको छ।

महानगरले धार्मिक सम्पदाको संरक्षणमार्फत वीरगंजको सांस्कृतिक पहिचान सुरक्षित हुने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here