​वीरगंज, ०७ भदौ – नेपाल अटोमोबाइल डिलर्स एशोसिएसन (नाडा) मधेस प्रदेशको शनिवार वीर​गंजमा सम्पन्न बैठकले सर्वसम्मतिबाट नयाँ कार्यसमिति चयन गरेको छ।

वीर​गंजस्थित होटेल पूजनमा आयोजित बैठकले राहुल अग्रवालको नेतृत्वमा १६ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो।

निर्वाचन अधिकृत प्रज्वल अधिकारीका अनुसार, नवनिर्वाचित कार्यसमितिमा प्रथम उपाध्यक्षमा विवेक बेरिवाल, द्वितीय उपाध्यक्षमा सन्तोष जयसवाल, महासचिवमा अभिषेक चौधरी, सचिवमा मुरारीकुमार रौनियार, कोषाध्यक्षमा दीपेन्द्र खेतान, सह-कोषाध्यक्षमा वीरेन्द्रकुमार रौनियार, जनसम्पर्क अधिकृतमा राजु गुप्ता र सञ्चार संयोजकमा सन्दीप अग्रवाल सर्वसम्मतिले चयन भएका छन्।

​यसैगरी, सदस्यमा विजय अग्रवाल, दीपेन्द्रकुमार खेतान, सञ्जयकुमार अग्रवाल, अनुपकुमार अग्रवाल, विकास ठाकुर, सन्दीपकुमार महतो, आनन्द अग्रवाल र रविकुमार सिकारिया चयन भएका छन्।

निर्वाचित अध्यक्ष राहुल अग्रवालले आफ्नो नेतृत्वमा गठित कार्यसमितिले मधेस प्रदेशको अटोमोबाइल क्षेत्रको विकास र व्यवसायीहरूको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “हामी सबैको साझा प्रयासले मधेस प्रदेशमा अटोमोबाइल व्यवसायलाई थप व्यवस्थित, पारदर्शी र समृद्ध बनाउनेछौँ। व्यवसायीहरूको समस्या समाधान गर्न र सरकारसँग समन्वय गरी नीतिगत सुधारका लागि पहल गर्नु हाम्रो प्राथमिकता हुनेछ।”

अग्रवालले आफ्नो टिममा अनुभवी र ऊर्जावान् व्यक्तिहरू पाउँदा गौरवान्वित महसुस गरेको बताए। उनले थपे,​ “हामी सबै मिलेर मधेस प्रदेशको आर्थिक विकासमा अटोमोबाइल क्षेत्रको योगदानलाई अझ सशक्त बनाउनेछौँ। व्यवसायीहरूबीच एकता कायम राख्दै ग्राहकमुखी सेवा र नवप्रवर्तनमा जोड दिनेछौँ।”

होटेल पूजनमा आयोजित उक्त बैठकमा नाडा मधेस प्रदेशका पदाधिकारीहरूले नयाँ नेतृत्व चयनका लागि छलफल गरेका थिए। निर्वाचन अधिकृत अधिकारीका अनुसार, सबै पदमा सर्वसम्मति कायम भएको थियो।

“सबैको सहमति र सहकार्यबाट नयाँ कार्यसमिति चयन भएको छ। समितिले आगामी दिनमा मधेस प्रदेशको अटोमोबाइल क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्नेछ,” अधिकारीले भने।

नवगठित कार्यसमितिले मधेस प्रदेशमा अटोमोबाइल व्यवसायसँग सम्बन्धित विभिन्न चुनौतीहरूको समाधान गर्ने लक्ष्य राखेको छ। जसमा नीतिगत सुधार, व्यवसायीहरूको हकहित संरक्षण, बजार विस्तार, र प्राविधिक नवप्रवर्तनलाई प्रोत्साहन गर्ने योजना रहेको बताइएको छ। साथै, समितिले ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्न तथा व्यवसायीहरूको क्षमता अभिवृद्धिका लागि तालिम तथा कार्यशाला आयोजना गर्ने योजना समेत बनाएको छ।

मधेस प्रदेश नेपालको अटोमोबाइल बजारको एक महत्त्वपूर्ण हिस्सा हो। ​वीरगंज, जनकपुरलगायतका सहरहरूमा अटोमोबाइल व्यवसायले स्थानीय अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउँदै आएको छ। नाडा मधेस प्रदेशले व्यवसायीहरूको छाता सङ्गठनको रूपमा काम गर्दै नीतिगत सुधार र व्यवसायमैत्री वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

नयाँ कार्यसमितिको गठनसँगै मधेस प्रदेशमा अटोमोबाइल क्षेत्रको थप विकास र व्यवसायीहरूको हितमा सकारात्मक परिवर्तन हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here