वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ का नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार रूपेश पाण्डे चुनावी मैदानमा फरक शैली र स्पष्ट एजेन्डा लिएर सक्रिय भएका छन्। काठमाडौंको स्थापित व्यवसाय छाडेर चार वर्षदेखि गाउँ–गाउँ, टोल–टोल पुग्दै जनतासँग प्रत्यक्ष संवाद गर्दै आएका पाण्डे आफूलाई ‘नेता’ भन्दा पनि जनताको सुख–दुःखको ‘साथी’ र विकासको ‘मुखिया’को रूपमा प्रस्तुत गर्दै आएका छन्।
पाण्डे आफ्नो अभियानलाई ‘होल बडी चेकअप’को रूपकसँग जोड्दै भन्छन्, “मान्छे बिरामी हुँदा अन्दाजमा औषधी खाँदैन, पहिले रोग पत्ता लगाउनुपर्छ। मैले ३ वर्ष ९ महिना लगाएर मेरो क्षेत्रका ३५ वटै वडाको पूर्ण ‘चेकअप’ गरिसकेको छु। अब मसँग रोगको पहिचान मात्र होइन, उपचारको प्रेस्किप्सन पनि तयार छ।”
उनले पर्सा–३ को सबैभन्दा जटिल समस्या किसानले उत्पादन गरेको तरकारी, अण्डा र दूधले उचित बजार नपाउनु रहेको बताउँदै चारवटा आधुनिक ‘कोल्ड स्टोर’ स्थापना गर्ने योजना अघि सारेका छन्। उत्पादन संकलन, भण्डारण र बजार व्यवस्थापनलाई एउटै श्रृङ्खलामा बाँधेर किसानलाई न्यूनतम मूल्य सुनिश्चित गर्ने पाण्डेको उद्देश्य छ।
शिक्षा र स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राखेका पाण्डे भन्छन्, “सांसद भनेको केवल नीति निर्माणमा सीमित रहनु होइन, गरिबका छोराछोरी विद्यालय गएका छन् कि छैनन्, शिक्षक कक्षामा छन् कि छैनन्, झोलामा कपी–कलम छ कि छैन भन्ने हेर्नु पनि सांसदको जिम्मेवारी हो।” उनी विद्यालय व्यवस्थापन समितिसँग नियमित समन्वय र सार्वजनिक प्रतिवेदन प्रणाली लागू गर्ने प्रतिबद्धता जनाएका छन्।
पर्सा–३ का खानेपानी, सडक र सिँचाइका अधुरा आयोजना नेतृत्वको कमजोरीका उदाहरण भएको पाण्डेको आरोप छ। उनले आफ्ना योजनाहरूको समयसीमा निर्धारण गरी सार्वजनिक अनुगमन गर्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका छन्।
प्रतिस्पर्धी दल र उम्मेदवारप्रति संकेत गर्दै पाण्डे भन्छन्, “लामो समय सत्तामा रहेर पनि आधारभूत विकास गर्न नसक्नेहरूले अब विश्राम लिनुपर्छ। नयाँ दलहरूलाई ‘पानीको फोका’ जस्तो मानिन्छ। क्षेत्रको स्थायी नीति र संरचना निर्माण गर्न सक्षम शक्ति आवश्यक छ।”
अहिले पाण्डे घरदैलो, टोलभेला र किसान–युवासँग अन्तरक्रिया कार्यक्रममा व्यस्त छन्। कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई चार आधारस्तम्भ बनाएर अघि बढेको उनको प्रचार रणनीतिले पर्सा–३ को चुनावी प्रतिस्पर्धालाई अझ रोचक बनाएको छ। मतदाताले विकासको स्पष्ट खाका, निरन्तर उपस्थिती र कार्यान्वयन प्रतिबद्धतालाई प्राथमिकता दिने–नदिनेले पाण्डेको राजनीतिक भविष्य निर्धारण गर्नेछ।
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here