वीरगंज, ०६ भदौ — वीरगंज महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि छात्रवृत्ति प्रवेश परीक्षा शुक्रबार सम्पन्न गरेको छ। संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई अवसर प्रदान गर्नका लागि महानगरले चारवटा परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन गरेको हो। यस वर्ष कक्षा ९ र ११ मा अध्ययन गर्न २ हजार ३ सय १ जना विद्यार्थीले अनलाइन फारम भरेका थिए। तर करिब २ सय ६८ जना विद्यार्थी परीक्षा दिन अनुपस्थित भएका छन्।
बिहान साढे सात बजे सुरु भई डेढ घण्टा चलेको परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको महानगरको शिक्षा महाशाखा प्रमुख आनन्द लामिछानेले जानकारी दिनुभयो।
महानगरले प्रत्येक वर्ष कक्षा ९ र ११ का लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ। यस अन्तर्गत छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले क्रमशः कक्षा १० र १२ सम्म सोही सुविधा निरन्तर पाउने व्यवस्था गरिएको छ। यस वर्ष महानगरभित्र सञ्चालनमा रहेका कक्षा ९ का लागि ८० र कक्षा ११ का लागि ३८ संस्थागत विद्यालयमा छात्रवृत्तिको व्यवस्था मिलाइएको छ। विद्यालयको विद्यार्थी सङ्ख्याको १० प्रतिशत बराबर छात्रवृत्ति सिफारिस गर्नुपर्ने नियम रहेको छ, जसअनुसार परीक्षामा सफल हुने विद्यार्थीलाई क्लस्टरअनुसार सिफारिस गरिनेछ।
छात्रवृत्तिको सिफारिस गर्दा सामुदायिक विद्यालयमा अध्ययन गरेका र वीरगंज महानगरपालिकाका स्थायी बासिन्दा रहेका विद्यार्थीलाई प्राथमिकता दिइनेछ। यसका अतिरिक्त महिला, दलित, आदिवासी–जनजाति, अपाङ्गता भएका व्यक्ति, शहीद तथा बेपत्ता परिवारका बालबालिका र मधेश आन्दोलनका घाइतेका बालबालिकाका लागि छुट्टै आरक्षण कोटा राखिएको छ।
शुक्रबार सम्पन्न परीक्षा चारवटा परीक्षा केन्द्रमा एकैपटक सञ्चालन गरिएको थियो। विद्यार्थीहरूको सहजता र व्यवस्थापनलाई ध्यानमा राखेर परीक्षा केन्द्रहरू तोकिएको शिक्षा महाशाखाले जनाएको छ। प्रश्नपत्र तयार पार्नेदेखि उत्तरपुस्तिका व्यवस्थापनसम्म सबै प्रक्रिया पारदर्शी ढङ्गले गरिएको महानगरको दाबी छ।
महानगरले केही दिनमै परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। नतिजा प्रकाशन भएपछि छात्रवृत्ति पाएका विद्यार्थीलाई सम्बन्धित विद्यालयमा पठाउन आवश्यक प्रशासनिक प्रक्रिया सुरु गरिनेछ। यसले आर्थिक तथा सामाजिक रूपमा कमजोर परिवारका विद्यार्थीलाई संस्थागत विद्यालयमा अध्ययन गर्ने अवसर प्रदान गर्दै आएको छ।
शिक्षा क्षेत्रमा समान अवसर सुनिश्चित गर्न र असमानता घटाउन महानगर आफैंले छात्रवृत्तिको परीक्षा लिएर संस्थागत विद्यालयमा अध्ययनका लागि सिफारिस गर्ने गरेको छ।

























