वीरगंज, ०६ भदौ – वीरगंजका निजी विद्यालय सञ्चालकहरूले शुक्रवार स्कुल बसहरूमा कालो झन्डा राखेर नगर परिक्रमा गर्दै सरकारद्वारा ल्याइएको विद्यालय शिक्षा सम्बन्धी विधेयकविरुद्ध विरोध प्रदर्शन गरेका छन्। उनीहरूले संसद्को शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले आफ्नो मागलाई बेवास्ता गरेको आरोप लगाउँदै विधेयकका विवादास्पद प्रावधान हटाउन दबाब दिएका छन्।
प्याब्सन, एनप्याब्सन, हिसान र अपेनको संयुक्त आह्वानमा आयोजित विरोध कार्यक्रममा निजी विद्यालयका शिक्षक, प्रधानाध्यापक र सञ्चालकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। गण्डकचोकबाट सुरु भएको नगर परिक्रमा सहरका विभिन्न भाग हुँदै घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो। प्रदर्शनकारीहरूले “निजी विद्यालय एकता जिन्दाबाद,” “गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता,” “निजी विद्यालय मारा विधेयक खारेज गर” लगायतका नारासहित विरोध जनाए।
घण्टाघरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले निजी विद्यालयलाई गैरनाफामूलक बनाउन खोजिएको व्यवस्थाप्रति कडा आपत्ति जनाए। उनले भने, “निजी विद्यालयमा ६ खर्बभन्दा बढी लगानी भइसकेको छ। यदि सरकारले त्यसको मुआब्जा दिन्छ भने हामी विद्यालय सरकारलाई हस्तान्तरण गर्न तयार छौँ। तर, सरकार हाम्रो लगानी खोस्ने नियतमा छ, जुन हामीलाई स्वीकार्य छैन।” सङ्ग्रौलाले निजी विद्यालयमा कार्यरत चार लाखभन्दा बढी शिक्षक तथा कर्मचारीको जिम्मेवारी पनि सरकारले लिनुपर्ने माग गरे।
निजी विद्यालय सञ्चालकहरूले विधेयकमा रहेका पाँच प्रावधान तत्काल खारेज गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूको असन्तुष्टि मुख्यत: निजी विद्यालयलाई गैरनाफामूलक बनाउन खोजिएको व्यवस्था, ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द, विद्यालयमा उत्पादन नहुने सामग्री उपलब्ध गराउनुपर्ने व्यवस्था र कम्पनी ऐनअनुसार दर्ता भएका विद्यालयलाई गैरनाफामूलक बनाउने प्रावधानसँग जोडिएको छ। साथै, छात्रवृत्ति वितरणको अधिकार विद्यालयमै रहनुपर्ने, ४५ प्रतिशत आरक्षण छात्रवृत्ति र सामुदायिक विद्यालयमा मात्र अध्ययन गरेका विद्यार्थीलाई उच्च शिक्षा र सिटीईभीटी कार्यक्रममा प्रवेश दिने व्यवस्था खारेज गर्नुपर्ने माग पनि राखिएको छ।
सञ्चालकहरूले चेतावनी दिँदै भनेका छन् कि माग पूरा नभए आगामी भदौ ९ गतेदेखि विद्यालय बन्द गरेर आन्दोलनलाई थप चर्काउनेछन्।
























