वीरगंज, १४ भदौ — “परिवर्तनको लागि वीरगंज युवा समाज” भन्ने नारासहित सामाजिक सेवा र जनचेतनामूलक अभियान गर्दै आएको वीरगंज युवा समाजले यहि भदौ २१ गते शनिवार रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ।
रक्तसञ्चार केन्द्र वीरगंजमा रगतको अभाव भएको सूचना प्राप्त भएपछि शनिवार बसेको समाजको बैठकले रक्तदान गर्ने निर्णय गरेको हो। अध्यक्ष संजीव थापाको अध्यक्षतामा बसेको बैठकले उक्त कार्यक्रम होटल मकालु सभाहलमा बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म सदस्य विवेक बेरिवालको संयोजकत्वमा सञ्चालन गर्ने निर्णय गरेको समाजले जनाएको छ।
सो अवसरमा अध्यक्ष थापाले रक्तदानले दिनेलाई कुनै घाटा नहुने तर लिनेको जीवन नै बच्ने भएकाले यसलाई महान् मानवीय कार्यका रूपमा लिने बेला आएको बताए। उनले रगत अभावका कारण नारायणी अस्पतालसहित विभिन्न स्वास्थ्य संस्थामा बिरामीको उपचार प्रभावित भएको भन्दै सबैलाई रक्तदानमा सहभागी हुन आह्वान गरे।
बैठकमा उपाध्यक्ष सुभद्रा राणा, सदस्यहरू पुर्ण बहादुर गुरुङ, सुशील श्रेष्ठ, लालबाबु सिंह, सृष्टि बिष्ट, बिनोद धिमाल, मौसमी सुनुवार राणा, सुदेश लाखे, विक्रान्त खनाल, उमेश श्रेष्ठ, सुमन पौडेल, मनोज गुप्ता, अस्मिता थापा, सुशील सिंह, सैयाद अंसारी लगायतको उपस्थिति रहेको थियो।
सहभागीले रक्तदानले कसैको जीवन बचाउन सकिने भएकाले यसलाई पवित्र कार्यका रूपमा बुझ्नुपर्ने उल्लेख गर्दै सम्पूर्ण युवादेखि अग्रज तथा महिलाहरूसम्म सबैलाई रक्तदानमा सहभागी हुन आग्रह गरेका थिए।