बीरगंज।नेकपा एमाले केन्द्रीय कमिटीको सर्कुलरअनुसार देशव्यापी वडा भेला कार्यक्रमअन्तर्गत पोखरिया नगरपालिका–१०, पर्सामा नेकपा एमाले वडा समिति अध्यक्ष दुःखहरण महतोको अध्यक्षतामा वडा भेला सम्पन्न भएको छ।
कार्यक्रममा जिल्ला कमिटी सदस्य बुनिनारायण राउत ‘कुर्मी’ र राष्ट्रिय युवा संघ नेपाल, पर्साका सचिव राकेश महतोले भेलालाई सम्बोधन गरेका थिए।
सचिव महतोले देशको वर्तमान राजनीतिक परिस्थिति चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै युवा पुस्ताले राष्ट्रनिर्माणमा सक्रिय भूमिकाका साथ अघि बढ्नुपर्नेमा जोड दिएका थिए। उनले सरकारले सर्वसाधारणको जीवनस्तर सुधार र सुशासनमा ध्यान दिनुपर्ने बताउँदै एमालेले उठाएका जनमुखी कार्यक्रमहरूलाई जनतासम्म पुर्याउन सबै कार्यकर्ताले एकताबद्ध भएर काम गर्नुपर्नेमा पनि जोड दिए।
त्यसैगरी जिल्ला कमिटी सदस्य राउतले संगठन सुदृढीकरण, विचारधारात्मक स्पष्टता र जनसंपर्क विस्तारमा ध्यान दिनुपर्ने बताए।
भेलामा वडा समिति सदस्यहरू, पार्टीका शुभेच्छुक, युवा तथा महिला कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको वडा एमालेले जनाएको छ।

























