वीरगञ्ज । शहीद दिवसको अवसरमा नेकपा (एमाले) पर्सा क्षेत्र नम्बर–१ का उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादवले शहीदहरूको बलिदानकै कारण नेपाल स्वतन्त्र र सार्वभौम राष्ट्रका रूपमा स्थापित हुन सफल भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै यादवले देशमा राजनीतिक परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । उनले देश, लोकतन्त्र र जनअधिकारका लागि अमूल्य जीवन समर्पण गर्ने शहीदहरूको योगदान सधैँ स्मरणीय रहने उल्लेख गरेका छन् ।

पर्सा–१ का निवर्तमान सांसदसमेत रहेका यादवले शहीदहरूको सपना साकार पार्नु सबै नेपाली नागरिकको साझा जिम्मेवारी भएको बताए । शहीदहरूको त्यागका कारण आज प्रत्येक नेपालीले आफूलाई सार्वभौम नागरिकका रूपमा गर्व गर्न पाएको उनको भनाइ छ ।

उनले राणा शासनविरुद्धको आन्दोलनदेखि पञ्चायती व्यवस्था, पहिलो र दोस्रो जनआन्दोलन, मधेस आन्दोलन तथा पछिल्लो समय भएको जेन–जी आन्दोलनसम्म ज्यान गुमाउने सम्पूर्ण शहीदहरूको योगदानलाई नमन गरेका छन् । शहीद दिवसको अवसरमा उनले शहीदहरूले देखाएको मार्गमा सधैँ अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here