वीरगंज, ३० असार । प्रतिनिधिसभा सदस्य हरि पन्तले पथलैया–वीरगंज औद्योगिक करिडोरमा संचालित उद्योगहरूबाट निस्कने केमिकलयुक्त बिषाक्त पानी बिना प्रशोधन सिधै श्रीसिया नदीमा मिसाउँदा दुर्गन्धित नालामा परिणत भएको बताएका छन् ।

आज सदनमा आफनो भनाइ राख्दै उनले सदियौदेखि वीरगंज हुँदै बग्ने प्राचीन सिर्सिया नदिको पानीमा उद्योगहरूको हेलचक्र्याइंयीं र लापरबाहीकै कारण नालामा परिणत भएको बताए ।

उनले लोक आस्थाको महापर्ब छठमा कुनै समय सिर्सिया कै पानीमा उभिएर अर्घ दिने अवस्था थियो तर अहिले छठ पर्बका दिन पनि अर्घ दिने भक्तालुहरु दुर्गन्धले त्यहाँ खुट्टा समेत राख्न नसकिने अबस्था रहेको बताए ।

सदनका सभामुख महोदयलाई उनले यस गम्भीर विषयप्रति ध्यानाकर्षण गराउंदै यसरी नालामा परिणत भएको सिर्सिया नदी अहिले वीरगंजमा उधुमै लाग्ने लामखुट्टे प्रजननको मुख्य प्रजननकेन्द्र नै बनेर दुर्गन्धित हुँदा नदी दुबै तिरको बस्तीमा राती चैनले सुत्न समेत नसक्ने वातावरण रहेको बताए ।

पछिल्ला केहि वर्षदेखि देखिएको यो बिकराल समस्यालाई अहिलेसम्मका संघीय, प्रदेश र स्थानीय सरकारहरूले आआफ्नो घोषणापत्रहरूमा समाबेस गरी चुनावी नारा बनाउनुभन्दा बाहेक आजका दिनसम्म कसैले माखोसम्म पनि मारेका छैनन, उनले भने । तर यसपाली राष्ट्रिय स्वतन्त्र पार्टीलाई अगाध बिश्वासका साथ मतदान गरेका त्यहाँका जनताले यो सरकारसंग ठूलो आशाका साथ सिर्सिया सफाइको अपेक्षा गरेको पनि उनले बताए । सिर्सिया नदीलाई पुनर्जीवन दिनका निमित्त यथाशीघ्र ठोस कदम चाल्न सांसद पन्तले सभामुखमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन