वीरगंज, १६ जेठ । पर्सा जिल्लासहित मदेश प्रदेशमा केही दिन यता तापक्रम ४० देखि ४५ डीग्री पुगेपछि आम जनजीवन कष्टकर र अस्तव्यस्त बनेको छ । यस्तो बेलामा पटक-पटक विद्युत ट्रिप हुने अवस्थाले जनजीवन झन कष्टकर बनेको मानिसहरु बताउँछन्। ग्रामिण क्षेत्रका मानिसहरु रुख र बाँसको छहारीमा समय बिताउने गरेका छन्। प्रचण्ड घामका कारण सर्वसाधारण मानिसहरु घरबाट कमै निस्कने गरेकाले शहर, बजार र कार्यालयहरुमा चहल पहल घटेको छ ।
चर्को घाम र तातो हावाका कारण पर्साका विद्यालयहरुमा बालबालिकाहरू बेहोस हुन थालेपछि अधिकाश पालिकहरुले विद्यालयमा बिदाको सुचना जारी गरेका छन् । वीरगंज महानगरपालिकाको शिक्षा महाशाखाले वर्षे विदाबाट कट्टा हुनेगरी १६ देखि १८ गतेसम्म गरी तिन दिनका लागि बिदाको सूचना सोमवार जारी गरेको थियो।
धानको बिउ छर्ने बेलामा सिंचाईको समस्याले किसानहरु चिन्तित छन्। जिल्लाका बजार र कार्यालय मात्र होइन, सरेह पनि सुनसान छ। ग्रामिण क्षेत्रमा किसानहरु बाँसघरी लगायत छहारी पाइने स्थानमा एकापसमा कृषिसँग सम्बन्धि चिन्ता एकले अर्कोसँग साझा गर्ने गरेका छन्।
गएको आइतवारको दिन रौतहट जिल्लाको बौधीमाई नगरपालिका ८ सरमुजवाका ५५ वर्षीय जयमङ्गल यादव अत्यधिक गर्मी सहन नसकेर लाल बकैया पुलमा ढलेर उनको मृत्यु भएको थियो । समयमा मनसुन शुरु नहुँदा गर्मी बढेको तथा केही दिन अझै यस्तो अवस्था रह्ने मौसमविद्हरुको भनाइ छ ।
चिकित्सकहरुका अनुसार बढ्दो गर्मीका कारण अस्पताल र नीजि क्लिनिकहरुमा ज्वरो, रुघाखोकी, झाडापखाला र सर्पदंशका बिरामीहरुको चाप बढेको छ। गर्मीको असरले स्वास्थ्यमा नकारात्मक असर पार्ने भन्दै चिकित्सकहरुले गर्मीबाट बच्न र सावधान रहन सुझाएका छन् ।