नेपाल प्रेस युनियन, पर्सा शाखा, प्रेस चौतारी पर्सा शाखा, समाजवादी प्रेस सङ्गठन, पर्सा शाखा तथा प्रेस मञ्च नेपाल, केन्द्रिय समितिको संयुक्त प्रेस विज्ञप्ति

वीरगंज। नेपाल पत्रकार महासङ्घ, केन्द्रिय समितिले विधान विपरित सदस्यता नामावलीमा नाम हेरफेर गरेको बिषयमा आपति जनाऊँदै सो संबन्धमा निष्पक्ष छानबिनको माँगसहित पर्सा जिल्लाका चारवटा सङ्घ/सङ्गठनहरुले संयुक्त प्रेस विज्ञप्ति निकालेका छन्।

नेपाल प्रेस युनियन, पर्सा शाखाका अध्यक्ष विजय महतो (चौहान), प्रेस चौतारी पर्सा शाखाका अध्यक्ष तुलसी भण्डारी, समाजवादी प्रेस सङ्गठन, पर्सा शाखाका अध्यक्ष शम्भु कुमार सुमन तथा प्रेस मञ्च नेपाल, केन्द्रिय समितिका उपाध्यक्ष वीरेन्द्र साह (हिटलर) ले हस्ताक्षर गरेको संयुक्त प्रेस विज्ञप्तिमा, ” नेपाल पत्रकार महासङ्घ केन्द्रिय समितिले सार्वजनिक गरेको सदस्यता नामावलीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

जिल्ला शाखाले सर्वसम्मत रुपमा प्रदेश समिति मार्फत केन्द्रलाई सिफारिस गरेको नामावली विपरीत चोर बाटो बाट पटक-पटक सार्वजनिक गरिएका सदस्यता नामावलीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

जिल्ला शाखाको सिफारिस विपरित केन्द्रिय समितिले सार्वजनिक गरेको नामावलीमा गैर पत्रकार समेत समावेश गरी ल्याइएको हाम्रो ठहर छ। विधानत: शाखा र प्रदेशबाट सिफारिस नै नभएका व्यक्तिको नाम समेत आश्चर्यचकित रुपमा केन्द्रले थपेर महासङ्घको गरिमा समेत घटाएको छ। तसर्थ, पर्सामा सिफारिस विपरित कुनै पनि नाम उल्लेख गरी आएमा सो नामावली स्वीकार्य नहेनु जानकारी गराउँदछौं।

महासङ्घ विधि विधान सम्मत चल्दै आएको संस्थाका रुपमा स्थापित रहेको हुँदा कुनै व्यक्ति वा संस्थाको प्रभावमा प्रक्रिया मिचेर नाम थपघट गर्ने कार्यको छानबिन गरी उचित कारबाहीको माँग समेत गर्दछौं। विधि विपरितको नामावली नसच्चिएसम्म पर्सामा निर्वाचको कुनै प्रक्रिया अगाडी नबढाउन साथै निर्वाचन नहुँदा सृजित हरेक अवस्थाको जिम्मेवार स्वयम् केन्द्रिय समिति नै हुनेछ।

नेपाल पत्रकार महासंघको सुर्खेतमा सम्पन्न केन्द्रिय साधारण सभाबाट पारित सदस्यता शुद्धिकरण अभियानमा हामी पूर्ण प्रतिबद्ध रहेका छौं।” उल्लेख छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here