ratuwamaai nagarpalika
रतुवामाई नगरपालिकाको कार्यालय, सिजुवा, मोरङ।
काठमाडौँ – मोरङ जिल्लाको रतुवामाई नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत सुनिल पौडेलसमेत सातजना उपर गलत लिखत तथा सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र बिशेष अदालत काठमाडौँमा शुक्रवार दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौँले जनाएको छ ।
रतुवामाई नगरपालिकाको वडा नं ६ को कार्यालयबाट बितरण गरिदैँ आएको सामाजिक सुरक्षा भत्तामा विवरण किर्ते गरी सामाजिक सुरक्षा भत्ता वापतको रकम अपचलन गरी भ्रष्टाचार गरेकोले सो सम्बन्धमा अनुसन्धान हुँदा बदनियतपूर्ण ढंगले गलत लिखत तयार गर्ने कार्य गरेको पुष्टि हुन आएकोले संलग्न कर्मचारी तथा व्यक्ति उपर बिगोसहित कैद सजायको मागदाबी लिई मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य नरहेको व्यक्तिलाई सुचिमा प्रविष्ट गरी सामाजिक सुरक्षा भत्ता कार्ड जारी गरेको तथा नागरिकता अनुसार उमेर नै नपुगेको व्यक्तिको साबिकको जन्म मितिमा संलग्न कर्मचारी तथा व्यक्तिहरुद्वारा फेरबदल गरिएको अख्तियारले जनाएको छ।
रतुवामाई नगरपालिका वडा नं ६ का वडाध्यक्ष तुलाराम लुइँटेल उपर एक लाख ६० हजार बिगो तथा कैद, वडा नं ६ की सचिव कल्पना बासकोटा, ऐ बस्ने मेगदीप पोखरेल तथा तारा पोखरेल उपर जनही एक लाख ४४ हजार बिगो तथा कैद र ऐ का भक्तकुमारी लुइँटेल उपर १६ हजार बिगो तथा कैदको मागदावी लिइएको छ।
यसैगरी, ईलाका प्रसाशन कार्यालय, रङ्गेलीका तत्कालिन प्रसशाकीय अधिकृत सुनिल पौडेल र नायब सुब्बा रमेश कोइराला उपर मुख्य कसुरदार सरह कैद तथा जरिवानाको मागदाबी लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौँका प्रवक्ता नरहरी घिमिरिले जानकारी गराएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन