वीरगन्ज – शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृती प्रतिष्ठानले आज वीरगंज महानगर वडा नं ९ स्थित नेपाल रेल्वे माविमा महिनावारी सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष मुना खनालको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी पर्साका उपाध्यक्ष मधु राणाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा राणाले सहभागी छात्राहरुलाई महिनावारी कुनै रोग नभएर शरिरको नियमित र प्राकृतिक प्रक्रिया भएको र महिनावारीले शरिरबाट अनावश्यक पदार्थ बाहिर निकाली शरीर स्वस्थ्य हुने बताए । उनले महिनावारी हुँदा न आतिएर सफाइमा विशेष ध्यान दिंदै सुरक्षित पैडहरु प्रयोग गर्नु पर्ने सुझाव दिए ।
यसैगरी, प्रशिक्षक पल्लवी हरलालकाले कक्षा ५ देखि १० सम्मका करीब २ सय २० जना अध्यनरत छात्राहरुलाई महिनावारी के हो, किन र कसरी हुन्छ ? र कतिपय महिलाहरुमा समय तल माथी फरक किन हुन्छ ? आदि बिषयमा विस्तृत रुपमा प्रशिक्षण दिएकी थिइन् । उनले प्रोजेक्टरको माध्यमले विभिन्न प्रयोगात्मक बिधिको प्रदर्शन गरी महिनावारिको समयमा नआतिएर सरसफाइमा विशेष सतर्कता अपनाउन आग्रह गर्नुका साथै छात्राहरुसँग अन्तरक्रिया गरी उनीहरुको जिज्ञासालाई समाधान गरेकी थिइन् ।
यसैगरी, प्रधानाध्यापक प्रभुप्रसाद रौनियारले यस्तो महत्वपुर्ण सचेतनामूलक कार्यक्रम हाम्रो विद्यालयमा गरेर छात्राहरुलाई ज्ञान एवं सचेतना प्रदान गरेकोमा प्रतिष्ठान परिवारप्रति आभार व्यक्त गरे । कार्यक्रममा डा. हरेराम ठाकुर र युवराज खड्काले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए भने सुर्य बिकले महिनावारी सम्बन्धी सचेतनामुलक कविता वाचन गरेका थिए ।
यसगरी, प्रतिष्ठानका अध्यक्ष मुना खनालले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर समाजिक सेवा गर्ने उद्देश्यले नै प्रतिष्ठानको स्थापना भएको बताए। उनले विगतदेखि नै छात्रछात्राहरुलाई शैक्षिक सामाग्री, असहाय बालबालिकाहरुलाई विभिन्न सामाग्री एवं आवश्यक सहयोग तथा चाडपर्वमा बिपन्नहरु परिवारलाई लत्ताकपडा लगायत सहयोग प्रदान गर्नुका साथै वृक्षारोपण, स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रम एवं समाजका अग्रज गुरुजनहरुलाई सम्मान जस्ता कार्यक्रमहरुको आयोजन गरी सामाजिक सेवा प्रदान गरिरहेको बताऊँदै आजको कार्यक्रमलाई सभ्य एवं भव्य रुपले सम्पन्न गर्न सहयोग पुर्याउने रेल्वे मावि परिवार तथा सहभागीहरुलाइ हार्दिक धन्यवाद प्रकट गरे।
कार्यक्रममा प्रतिष्ठानका वरिष्ठ सल्लाहकार प्रकाश कुमार उपाध्याय, मधेश विश्वविद्यालयका प्राध्यापक एवं प्रतिष्ठानका सल्लाहकार डा हरेराम ठाकुर, पत्रकार महासङ्घ पर्साका उपाध्यक्ष युवराज खडका, समाजसेवी दिलिप शर्मा बराल, अभियन्ता राजेन्द्र भट्टराई, प्रतिष्ठानका कोषाध्यक्ष बिना खतिवडा आचार्य, सहसचिव पत्रकार अजित भुजेल, नवराज भट्टराई ,पवन श्रेष्ठ, अभिलाश गुप्ता, पत्रकार सुर्य बिक लगायत शिक्षकहरु तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य प्रकाश कुमार उपाध्याय तथा सहजीकरण सचिव लालबाबु सिंहले गरेका थिए ।