काठमाडौँ, १० भदौ । खानेपानी मन्त्री प्रदीप यादवले देशभरिका खानेपानी समस्याको समाधानका लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

सोमबार सौराहामा आयोजित ‘खानेपानी तथा सरसफाइ क्षेत्रको सवाल र समाधान’ विषयक राष्ट्रिय गोष्ठीमा मन्त्री यादवले जलवायु परिवर्तनका कारण खानेपानीका स्रोतहरू सुक्दै जानु र यसले निम्त्याएका समस्याहरूको समाधानका लागि समग्र देशको सहभागिता अपरिहार्य रहेको बताउनुभयो ।

मन्त्री यादवले सेता हिमाल काला हुँदै हिउँ पग्लनु, पहाडमा पानीका मुहान सुक्न थाल्नु, र चुरेको दोहनले मधेसमा चापाकलहरू सुक्न थाल्नुलाई जलवायु परिवर्तनका गम्भीर प्रभावहरूका रूपमा औँल्याउनुभयो । उहाँले देशभर जलस्रोतको वैज्ञानिक अध्ययन गरी आवश्यक कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।

“विश्वले निकट भविष्यमा पानीकै कारण ठूलो चुनौती सामना गर्नुपर्ने अवस्था आउने देखिन्छ । नेपालले समस्या गम्भीर बन्नु अघि नै सजग हुन आवश्यक छ,” मन्त्री यादवले भन्नुभयो । उहाँले खानेपानीसम्बन्धी ऐन, नियमावलीहरूमा कुनै समस्या भएमा समाधान गर्दै अगाडि बढ्न सकिने स्पष्ट पार्नुभयो ।

उपभोक्ता महासङ्घलाई जनताको घरसम्म पुगेर लाखौँलाई खानेपानी उपलब्ध गराएकोमा धन्यवाद दिँदै मन्त्री यादवले बिजुली र अन्य सुविधामा छुटको व्यवस्था आवश्यक रहेको बताउनुभयो । साथै, उहाँले साना उपभोक्ता संस्थाहरूलाई एकीकृत गरी काम गर्नुपर्ने सुझाउनुभयो ।

कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठले खानेपानी उपभोक्ता समितिहरूलाई व्यावसायिक उद्देश्य राखेर अघि बढ्न आग्रह गर्नुभयो । महासङ्घका अध्यक्ष राजेन्द्र अर्यालले कर, बिजुली र इन्धनमा छुटको व्यवस्था गर्नुपर्ने माग गर्दै खानेपानीका सबै पहलमा समन्वय आवश्यक रहेको औँल्याउनुभयो ।

गोष्ठीमा विभिन्न निर्माण तथा मर्मत कार्य, पाइप बिछ्याउने समन्वय, र अन्य चुनौतीहरूबारे चर्चा गर्दै विशेषज्ञहरूले गुणस्तरीय खानेपानी उपलब्ध गराउनुपर्नेमा जोड दिए । कार्यक्रममा दुई सय पचास भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको थियो ।

यसै अवसरमा, मन्त्री यादवले चितवनमा रहेका विभिन्न खानेपानी आयोजनाहरूको अनुगमन गर्दै वर्तमान स्थिति र चुनौतीहरूको अवलोकन गर्नुभयो । उहाँले आयोजनाहरूलाई प्रभावकारी रूपमा सञ्चालनका लागि निर्देशन पनि दिनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here