काठमाडौँ, १७ माघ/ नेदरल्यान्ड्सले त्रिकोणात्मक महिला ट्वान्टी २० शृंखलामा नेपाललाई १ सय ५८ रनको लक्ष्य दिएको छ । नेपालकी कप्तान इन्दु बर्माले टस जितेपछि ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले रोबिन रिज्केको अर्धशतकमा बिहीबार त्रिवि क्रिकेट मैदानमा निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ५७ रन बनाएको हो ।
कविता कुँवरले इनिङ्सको दोस्रो बलमै फेबे मोल्केनबोइरलाई शुन्यमा एलबीडब्लु आउट गरी नेपाललाई उत्कृष्ट सुरुआत दिलाएकी थिइन् । पूजा महतोले नेदरल्यान्ड्सकी कप्तान बाबेटे डी लिडेलाई ६ रनमा बोल्ड गरी नेपाललाई खेलमा हाबी बनाउन खोजेकी थिइन् ।
तर स्टेरे कालिस र रिज्केले तेस्रो विकेटमा ४७ रनको साझेदारी गरी नेदरल्यान्ड्सको इनिङ्सलाई सुधारेका थिए । कालिसलाई २९ रनमा सीता रानामगरले बोल्ड गरिन् ।
रिज्के र हिथर सिगर्सले चौथो विकेटमा ५४ रनको साझेदारी गरे । सिगर्सले १९ बल खेली समान १ चौका र छक्कासहित २३ रन बनाइन् । उनलाई सोनु विष्टले लङ अनमा रुविना क्षेत्रीबाट क्याच गराइन् ।
रिज्के ५७ रन बनाइ अविजित रहिन् । उनले ४७ बल खेली ८ चौका प्रहार गरिन् । अर्की अविजित ब्याटर आइरिस विलिङले १३ बलमा ३१ रन बनाइन् । उनले ५ चौका प्रहार गरेकी थिइन् । नेदरल्यान्ड्सले अन्तिम ५ ओभरमा ६२ रन जोडेकी थिइन् ।
नेपालबाट कविता, पूजा, ईश्वरी र सीताले १–१ विकेट लिइन् । कविताले २ ओभरमा १४, पूजाले ३ ओभरमा २५, ईश्वरीले ३ ओभरमा १ मेडन राख्दै २४ र सीताले ३ ओभरमा २५ रन खर्चेका थिए ।
साभार :इकान्तिपुर