फोटो : अभितक।

पर्सा, पोखरिया, १५ फागुन। पोखरिया नगरपालिकामा सेवा केन्द्र सञ्चालन बारे उठ्दै आएको माग अन्ततः पुरा भएको छ। बिहीवारदेखि भूमिसुधार तथा मालपोत र नापी कार्यालयका सेवा केन्द्रहरु सञ्चालनमा आएका छन् ।

पोखरिया नपामा मालपोत र नापी कार्यालयका सेवा केन्द्र सञ्चालन भएसँगै यो कार्यालयबाट पोखरिया नगरपालिका समेत धोबिनी, विन्ध्यवासिनी, छिपहरमाई, कालिकामाई, जगरनाथपुर र पकाहामैनपुर गाऊँपालिका गरीसातवटा पालिकाका जनताले सेवा पाउने भएका छन् । उद्घाटन समारोह हेर्न बिभिन्न गाउँपालिकाका मानिसहरु आएका थिए।

फोटो : अभितक।

पोखरिया नगरपालिकाले बिहिवार आयोजना गरेको उद्घाटन कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री बलराम अधिकारीले सेवा केन्द्रहरुको उद्घाटन गरेका थिए । उनले सेवा केन्द्रको स्थापनापछि पोखरिया नगरपालिकासहित सातवटा पालिकाका जनताको वीरगंज जाने झन्झटबाट मुक्त भइ समय र पैसाको बचत हुने बताए । उनले मालपोत र नापीका लागि कार्यालयकै नाममा जग्गा उपलब्ध गराउन सुझाव दिए ।

मन्त्री अधिकारीले देशमा रहेका स्ववासी तथा भूमिहीनहरूको लागि पनि सरकारले जग्गा उपलब्ध गराउने बताए । उनीहरूको हकभोगमा रहेका जग्गा नाममा गर्नेगरी विधेयक संसद्मा पेश भएको बताए । उनले देश अहिलेसम्म पुरानो ढाँचाबाट चल्दै आएको र यो कानूनी व्यवस्थाले जनताको समस्या समाधान गर्न नसकेको कारण सरकारले अध्यादेशमार्फत कानून बनाउन खोजेको बताए । उनले अध्यादेशको प्रायोजितरूपमा मात्र विरोध भएको भन्दै सरकारले अध्यादेश पारित गरिछाड्ने दाबी गरे ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सम्बोधनको क्रममा आफूले चुनावताका गरेको प्रतिबद्धतालाई पूरा गरिरहेको बताए । पोखरियामा नापी र मालपोत कार्यालय ल्याउन आफूले चुनावताका गरेको वाचालाई पूरा गरेको उनले दाबी गरे । यससँगै उनले इलाका प्रशासन कार्यालय स्थापनाका लागि पहल गरिरहेको बताए । उनले पोखरिया नगरपालिकामा सडक, विद्यालय निमार्णका लागि रु ३५ करोडको योजना दिएको बताए । पोखरिया नगरपालिकामा थप ५० करोडको योजना ल्याउने तयारीमा रहेको बताए ।

फोटो : अभितक।

यसैगरी, कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले सेवा केन्द्र स्थापनाबाट पायक परेका पालिकालाई यसै कार्यालयबाट सेवा सञ्चालन गरिने तथा अपायक परेका पालिकाहरूलाई वीरगंजबाट सेवा दिने गरी हेरफेर गर्नुपर्ने सुझाव दिए । मन्त्री चौरसियाले अहिलेको सरकार विशेष परिस्थितिमा गठन भएको र गठबन्धन नटुट्ने दाबी गरे । अहिले केही गलत तत्वले सरकार ढल्ने भनेर गरेको हल्लामा सत्यता नभएको हल्लाको पछाडि नपर्न सुझाए ।

कार्यक्रममा मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षत्री, मधेस प्रदेशकै युवा, खेलकूद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले पनि मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रदेशसभा सदस्यद्वय श्याम पटेल, वीणा शर्मा, पूर्वसांसद विचारी यादव, पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरी, पूर्व प्रदेशसभा सदस्य प्रह्लाद गिरी, भूमि व्यवस्था विभागका महानिर्देशक शिवप्रसाद रेग्मी, पोखरिया नगरपालिकाका प्रमुख प्रद्युम्न चौहान, प्रमुख जिल्ला अधिकारी गणेश अर्याललगायतको सहभागिता थियो । कार्यक्रममा स्वागत उपप्रमुख रूबी ठाकुर तथा सञ्चालन अशोककुमार भट्टराईले गरेका थिए ।

 ​यसैगरी,   पोखरिया नगरपालिकाका नगर प्रमुख प्रदुम्न चौहानले अभितकलाई प्रतिक्रिया दिंदै भने, “पोखरिया नगरपालिकासँगै सातवटा पालिकाका जनताको मालपोत तथा नापी सम्बन्धि कार्य आजदेखि विधिवत रुपमा संचालन भएको छ । अब वीरगंज धाउनु पर्ने झन्झट हुने छैन।”

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here