प्रसङ्ग शुरु गर्छु एउटा कागको कथाबाट। केहि दिनअघि भारतीय सञ्चारमाध्यमहरुमा एक अद्भुत समाचार पढ्न/हेर्न पाइयो — एउटा काग मान्छे जस्तै बोलिरहेको छ। यो घट्ना भारतको महाराष्ट्र राज्य अन्तर्गत पर्ने पालघरको हो। समाचार अनुसार एकजना मानिसले बच्चा कागलाई घाइते अवस्थामा उद्धार गरी घरमा ल्याएका रहेछन्। उपचारपछि काग निको हुन्छ। विस्तारै परिवारसँग घुलमिल हुँदै जान्छ। अनि मानिसहरुको भिड तब बढ्न थाल्छ, जब त्यस क्षेत्रमा उक्त कागले बोलिरहेको कुरा फैलिन्छ। यो अद्भुत र अप्राकृतिक प्रसङ्ग संचारमाध्यमहरुको क्यामराबाट फुत्किने कुरै भएन। अहिले कागले बोलेको उक्त समाचार सामाजिक संजालहरुमा भाइरल छ।

आजको समय केवल प्रविधिको युग मात्रै होइन, अपितु बिभिन्न (अ)सामाजिक र (अ)राजनीतिक परिदृश्यहरुले मानवीय पतनको युग भन्नु बेठिक भन्न मिल्दैन । यस्तो युग जहाँ मान्छे बोल्न सक्ने क्षमतामा भएर पनि ज्वलन्त विषयहरूमा मौन बस्छन् । यस्तो लाग्छ कि मानिसहरु सोचिरहेका छन्, “पशुपक्षीहरु हाम्रो बारे आवाज उठाई दिउन् ।”

उक्त दृश्य जो कसैलाई पनि अत्यन्तै अपत्यारिलो, अनौठो र आश्चर्यजनक लाग्न सक्छ। सोच्न बाध्य बनाउँन सक्छ । किनभने बोलीविहीन कागले पनि बोल्न शुरु गरिसक्यो, तर मानव प्राकृतिक रुपमै बोल्न सक्षम भए तापनि अनेकौं बिषयहरुमा मौन देखिन्छ।  मानव किन जीवजन्तु र जीवजन्तु किन मानवको आचरण आत्मसात गर्दैछ ? यो घट्नाले मानव सभ्यतामाथि प्रश्न खडा गरेसँगै गम्भीर व्यङ्ग्य प्रहार गरेको छ।

“के यो केवल व्यङ्ग्य हो ?” होइन, यो कलियुगको नग्न यथार्थ र तीतो सत्य हो, जसले मानव सभ्यतालाई ऐना देखाउने काम गरेको छ ।

आजको सबैभन्दा ठूलो विडम्बना के हो भने हामी आफ्नै मनोरञ्जनका लागि सुगालाई बोल्न सिकाउँछौं। कुकुरबाट घरको रेखदेख गराउँछौं । हात्तीलाई सडकमा नचाउँछौं । गोरुबाट खेत जोताउँछौं । त्यसैले मानवलाई सबैभन्दा बुद्धिमान प्राणी भनिन्छ । तर आज हामी नै मौन छौं — डर, स्वार्थ र सुविधाका कारण। हामीले पशुपक्षीहरूलाई हाम्रो आवश्यकता र मनोरञ्जनको माध्यम बनाएका छौं। त्यो दिन टाढा छैन, जब खेतमा मान्छे हलो जोत्नेछ र गोरुले हुकुम दिनेछ, कुकुरले मालिकलाई भुक्न बाध्य पार्नेछ । काग हाँस्दै भनिरहेको हुनेछ, “ऊ हेर, मान्छे जाँदैछ!” आज यो कल्पना हो, तर भोलिको यथार्थ पनि हुन सक्छ । किनकि अब काग पनि बोल्न थालेको छ।

हाम्रो समाजमा नैतिकताको परिभाषा समय र अवसर अनुसार बदलिँदै गएको छ। घरमा कुनै जनावरको मृत शरीर मासु बनेर आयो भने पूरै परिवार रमाउँछ । बच्चाहरूले थाल बजाउँछन्। तर जङ्गलमा बाघ वा भालुले कुनै मान्छेलाई आफ्नो आहारा बनायो भने हामी शोक सभा गर्छौं । मैनबत्ती बाल्छौं । पोस्टर बनाउँछौं । अनि त्यो समाचारको मुख्य शीर्षक बन्छ।

यो कस्तो न्याय हो? हामीले जीवनको मूल्य उसको सुन्दरता र उपयोगिताको आधारमा तोकेका छौं। जब कुनै मान्छेले झिँगा वा तेलकिरा मार्छ, उसलाई बलवान सम्झिन्छौं। तर उही मान्छेले गल्तीले पुतली मिच्यो भने सबै भन्छन्, “कस्तो निर्दयी!” अर्थात् जुन चिज प्रिय छैन, त्यसको हत्या वा शोषण जायज; र जुन चिज सुन्दर देखिन्छ, त्यसको रक्षण अनिवार्य ! के यही हो मानवीयताको नयाँ मापदण्ड? यो दोहोरो चरित्र केवल घरभित्र मात्रै सीमित छैन । यो त हाम्रो मुलुकको व्यवस्थामा पनि गहिरो रूपमा समाहित छ।

जो समाजका लागि ‘सजावट’ हुन्, उनीहरूलाई संरक्षण दिइन्छ । तर जो मेहनती, इमानदार तर कमजोर छन्, तिनीहरू कुचलिन्छन्। हामी घरको पाल्तु जनावरलाई राम्रो खाना दिन्छौं, तर गलीको भोकाएको बालकलाई हेर्न समेत चाहँदैनौं। हामी जनावर संरक्षणका लागि -याली निकाल्छौं, तर रुखको कटानमा चुप लागेर बस्छौं। हामी बोल्ने साहस गुमाइसकेका छौं,  र यही मौनता समाजको पतनको सबैभन्दा ठूलो कारण हो।

नेपाल जस्तो प्राकृतिक र सांस्कृतिक रूपमा सुन्दर र समृद्ध देशमा आज त्यही अवस्था बन्दै गएको छ। महँगी, बेरोजगारी, भ्रष्टाचार र राजनीतिक अस्थिरताले आम जनजीवनलाई थिचेको छ। तर पनि जनताहरू मौन छन्, जस्तो कि पीडा र अन्याय अब जीवनको सामान्य हिस्सा बनिसकेको होस्। जो मान्छे सत्य बोल्न सक्छन्, उनीहरू डराउँछन् वा चुप रहन सहज ठान्छन्।

यो “मूक पशु समान” समाज वास्तवमै आफ्नो अस्तित्वलाई अस्वीकार गर्दैछ। हाम्रो मौनताले नै अत्याचारीलाई बल दिएको छ। हाम्रो सहनशीलताले नै अन्यायलाई मलजल दिएको छ। नेपालको त्यो भूमि, जहाँ बुद्धले शान्तिको पाठ पढाएका थिए, आज त्यहीँका युवाहरू रोजगारको खोजीमा विदेशमा पसिना बगाइरहेका छन्। देशका नेता कुर्सीको राजनीतिमा व्यस्त छन्, अनि जनता आफ्नै घरमा भाडामा बस्न बाध्य छन्।

यदि अब पनि हामी जागेनौं भने त्यो दिन टाढा छैन, जब इतिहासले हामीलाई यस्तो समाज भनेर चिन्नेछ, “उनीहरु बोल्न सक्थे, तर मौन बसे !” त्यो पनि हुन सक्छ कि कलियुगको चरममा पुग्दा हामी मान्छेहरू जनावरको अधीनमा काम गर्नुपर्ने अवस्था आउन सक्छ । किनभने हामीले आफ्नै आवाज गुमाइसकेका हुनेछौं। समाजको सबैभन्दा ठूलो रोग हो, “दुनिया यस्तै हो, भईराख्छ” भन्ने मानसिकता।

यही मानसिकता हामीलाई भित्रैदेखि खोक्रो बनाउँदैछ। हामीले समवेदनालाई सस्तो मनोरञ्जनमा बदलिसकेका छौं र न्यायलाई आफ्नै सुविधाको चीज बनाइदिएका छौं। अब समय आएको छ कि हामी फेरि मानिस बनौं, जागौं, सोचौं र बोलौं ।  किनभने अब काग पनि बोल्न थालेको छ। हरेक त्यस्तो मुद्दामा बोलौं, जहाँ चुप लाग्नु अपराध हो।

अब समय आएको छ कि सुगालाई चुप लगाएर आफू बोलौं। जनावर र पक्षीको नक्कल गर्नुभन्दा उत्तम हुनेछ, हामी फेरि सोच्न र बोल्न सक्ने असल मानिस बनौं। नत्र त अर्को चोटि जब काग हाँस्नेछ, ऊ मान्छे माथि हाँस्नेछ । किनकि ऊ त ‘मान्छे’ कहलिनेछ, र हामी केवल तमासे! अब त काग पनि बोल्न थालेको छ, हामी कहिले बोल्छौ ?

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here