वीरगंज । पर्सा जिल्लाको बहुदरमाई नगरपालिकामा राष्ट्रिय युवा सङ्घको दोस्रो नगर अधिवेशनले राजनकुमारको अध्यक्षतामा ३५ सदस्यीय राष्ट्रिय युवा सङ्घ नेपाल बहुदरमाई नगर कमिटी गठन गरिएको छ ।
राष्ट्रिय युवा सङ्घ नेपाल बहुदरमाई नगरपालिका कमिटीको दोस्रो अधिवेशनमा स्वागत मन्तव्य राख्दै राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्य एवं पर्सा जिल्ला इन्चार्ज रवि गुप्ताले युवाहरू अबको निर्वाचनमा होमिनु पर्ने तथा निर्वाचन जिताउन युवाहरूको सक्रिय योगदानको आह्वान गरे । उनले राष्ट्रिय युवा संघ नेपाल बिना वर्दीको सिपाही भएको साथै युवाहरूले एउटा राम्रो सन्देश बोकेर गाउँ जान आग्रह गरे ।
यसैगरी, शुभकामना मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि एवं नेकपा एमालेका केन्द्रीय सल्लाहकार सदस्य शिव पटेलले युवाहरू भनेको नेकपा एमालेको मेरुदण्ड भएको बताए । उनले आगामी २०८४ को निर्वाचनमा पार्टी कमिटीसँगै नगरपालिकाको सबै जन सङ्गठनहरू हिँड्नको लागि आह्वान गरे । पटेलले हामी नेकपा एमाले संयम भएर जनताको माझमा जान पनि आग्रह गरे । पार्टीले जसलाई टिकट दिए पनि जनतासँग गएर सात सूर्य सात छाप भनेर जनता सामु जान पटेलले आग्रह गरे ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य अरविन्द सिंह, राष्ट्रिय युवा सङ्घ नेपाल पर्सा जिल्ला अध्यक्ष सुवास साह, उपाध्यक्ष दीपक पटेल, सचिव राकेश महतो, सचिवालय सदस्य सुजित गिरी तथा शाहीद अन्सारी लगायत नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।