वीरगंज, पर्सा — वीरगंज महानगरपालिका र ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा “सफा, हरित र वैभवशाली वीरगंज” महा-अभियान अन्तर्गत ‘जहाँ खाली, त्यहाँ हरियाली’ मूल नारासहित वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
तस्विर : सौजन्य
महानगरपालिका वडा नम्बर १० स्थित आदर्शनगर रंगशालामा आयोजित उक्त कार्यक्रममा १ सय ५० वटा विभिन्न प्रजातिका बिरुवा रोपेर कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रमको अध्यक्षता ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले गरेका थिए भने प्रमुख अतिथि वीमनपाका नगरप्रमुख राजेशमान सिंह थिए।
कार्यक्रममा नगरप्रमुख सिंहले वातावरणीय असन्तुलनका कारण उत्पन्न समस्याहरू—जस्तै अत्यधिक गर्मी, एकै स्थानमा बढी वर्षा, कतै खडेरी त कतै आँधीहुरी, चिसोको असामान्य वृद्धिप्रति चिन्ता व्यक्त गरे। उनले यस्ता समस्याहरूको समाधानका लागि वृक्षारोपण आवश्यक रहेको उल्लेख गर्दै ‘जहाँ खाली, त्यहाँ हरियाली’ अभियानलाई सबैले आत्मसात गर्नुपर्नेमा जोड दिए। साथै, उनले प्राकृतिक सम्पदाको संरक्षण र सम्वर्द्धनमा सामूहिक सहभागिता अपरिहार्य रहेको पनि बताए।
कार्यक्रममा वीरगंज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, सरसफाई अधिकृत सर्फुदिन मिया, वातावरण शाखाका प्रकाश ऐर र आमोदिन हवारी, समाजसेवी भोला कलवार, बसन्तप्रसाद उपाध्याय, नगर प्रहरी प्रमुख हरि भुसाल, प्रहरी नायब निरीक्षक प्रदीपकुमार गोले, ग्रीनसिटीका उपाध्यक्ष संजय शर्मा, सदस्य रतन टेमानी, प्रहरी वरिष्ठ हवल्दार प्रेम राम, प्रहरी जवान अमरसिंह साउद, सञ्चारकर्मीहरू तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।