काठमाडौँ — राजधानीको प्रवेशद्वार नागढुङ्गामा ट्राफिक प्रहरी निरीक्षकले जनपद प्रहरीका एक सहायक हवल्दारलाई चड्कन हानेका छन्। बुधबार बिहान भएको यो घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका एसएसपी विनोद घिमिरेले दुबै प्रहरीलाई बोलाएर सोधपुछ भइरहेको जानकारी दिए। उनले भने, ‘भिडियोमा देखिएका व्यक्तिहरूलाई कार्यालयमा बोलाएर अनुसन्धान भइरहेको छ। के भएको रहेछ, त्यसपछि बाँकी कुरा खुल्छ। गल्ती जे भए पनि कानुनी प्रक्रिया अनुसार कारबाही हुनेछ, सडकमै हात हाल्नु उचित होइन।’
एक प्रहरी अधिकृतका अनुसार, जनपद प्रहरीका सहायक हवल्दारले भारतीय नम्बर प्लेटको गाडीबाट पैसा लिएको देखेपछि ट्राफिक प्रहरी निरीक्षकले प्रतिक्रिया स्वरूप चड्कन हानेका थिए।
यो घटना प्रहरी संगठनभित्रको आन्तरिक अनुशासन, पेसागत मर्यादा र पारदर्शिता माथि प्रश्न उठाउने खालको देखिएको छ।

























