दिनेशकुमार मिश्र, वीरगंज — महिला स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने संवेदनशील वस्तु सेनिटरी प्याड वीरगंज महानगरपालिकाको गोदाममा जथाभावी ढंगले फोहोर कोठामा राखिएको देखिएको थियो। अभितक मिडियाले यो विषयमा बिहीबार प्रकाशन गरेको विशेष समाचारले सामाजिक सञ्जालदेखि महानगर प्रशासनसम्म हलचल ल्यायो।

सेनिटरी प्याड कुनै पनि किशोरी, महिला तथा सुत्केरी आमाहरूका लागि अत्यावश्यक स्वास्थ्य सामग्री हो। महिनावारीका समयमा सरसफाइ र संक्रमण नियन्त्रणमा यसको भूमिका निर्णायक हुन्छ। तर, यस्तै संवेदनशील सामग्रीलाई धुलोले भरिएको स्थानमा फालिनु, न केवल अमर्यादित काम हो, यो स्वास्थ्य जोखिम पनि हो।

विज्ञापन

अभितक मिडियाले सार्वजनिक गरेको तस्वीर र विवरणले प्रमाणित गर्‍यो कि महानगरले वितरण गर्नुपर्ने सेनिटरी प्याडहरू उपेक्षित अवस्थामा थिए। न त उपयुक्त गोदामको प्रबन्ध थियो, न त प्याडहरू सुरक्षित राख्ने कुनै न्यूनतम स्वास्थ्य मापदण्ड। यसले महानगरको स्वास्थ्य दृष्टिकोणप्रति गम्भीर प्रश्न उठाएको थियो।

समाचारको प्रभाव : आज स्थिति फेरिएको छ

समाचार प्रकाशित भएपछि वीरगंज महानगरपालिकाले तुरुन्तै सुधारात्मक कदम चालेको देखिन्छ। हिजो र आज खिचिएका तस्वीरहरूको तुलनाले देखाउँछ कि प्याडहरू अब व्यवस्थित तरिकाले राखिएका छन्, सरसफाइमा ध्यान दिइएको छ। यस्ता सार्वजनिक चासोका विषयमा सञ्चारमाध्यमको भूमिका कति प्रभावकारी हुन्छ भन्ने यो उदाहरणले पुनः देखाएको छ।

सेनिटरी प्याड मात्र होइन, स्वास्थ्य र गरिमाको सवाल

सेनिटरी प्याड कुनै साधारण वस्तु होइन। यो महिला स्वास्थ्यको अधिकारसँग गाँसिएको विषय हो। अझ, ग्रामीण क्षेत्र वा आर्थिक रूपमा कमजोर समुदायमा, निःशुल्क वा सहुलियतमा वितरण हुने प्याडहरू महिलाहरूका लागि गरिमा र स्वास्थ्य दुबैका लागि जीवनरक्षक सावित हुन्छन्।

अतः यस्तो सामग्रीको भण्डारण र वितरणप्रति स्थानीय निकायहरूले संवेदनशील र जिम्मेवार भूमिका निर्वाह गर्नु अत्यावश्यक हुन्छ। यो केवल प्रशासनिक लापरवाहीको कुरा होइन, यो महिलाको स्वास्थ्य, अधिकार र गरिमासँग जोडिएको प्रश्न हो।

विडियो​मा हेर्नुहोस् पहिलेको अवस्था…

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here