कक्षा १२ को परीक्षा सकिनु जीवनको एक अध्यायको अन्त्य मात्र होइन, अर्को अध्यायको सुरुवात पनि हो । अबको समय तपाईंले आफूलाई चिन्न, बुझ्न र आगामी लक्ष्य तय गर्नका लागि अत्यन्तै महत्वपूर्ण छ ।

धेरै विद्यार्थीहरू यस समयमा अन्योलमा हुन्छन्—के गर्ने ? कुन विषय पढ्ने ? कसरी करियर बनाउने ? केही समय विश्राम गर्नुहोस्, तर त्यसपछि आफूभित्रको क्षमता र रुचिलाई नियाल्नुहोस् । सफलता सधैं अङ्कले मात्र तय हुँदैन; तपाईंको प्रयास, दृष्टिकोण र धैर्यले पनि निर्धारण गर्छ ।

विज्ञापन

एक प्रेरणादायी कथा: “रुद्रको यात्रा”

रुद्र नाम गरेको एक युवक कक्षा १२ पछि केही समय अलमलमा पर्‍यो । ऊ गाउँको सामान्य परिवारबाट आएको थियो । साथीहरूले शहरमा गएर पढ्न थाले, कसैले विदेशको योजना बनायो । रुद्र भने सोच्दै रह्यो—”मसँग न त पैसा छ, न त राम्रो अंग्रेजी । म के गर्न सक्छु ?”

तर, उसले हार मानेन । उसले यूट्युब, किताब र अनलाइन कोर्समार्फत कम्प्युटर सिक्न थाल्यो । सुरुमा धेरै अप्ठ्यारो भयो, कहिले निराश पनि भयो, तर उसले हरेस खाएन । दुई वर्षपछि उसले फ्रीलान्सिङ सुरु गर्‍यो, आफ्नै कम्प्युटरबाट । आज ऊ आफ्नै कम्पनी चलाइरहेको छ, गाउँमै बसेर अरूलाई पनि तालिम दिन थालेको छ ।

उसको एउटै मन्त्र थियो: “मैले आफूमा विश्वास गरेँ, र सानो बाटोबाट सुरु गरेँ ।”

तपाईंका लागि केही सुझावहरू

  • आत्मचिन्तन गर्नुहोस् – तपाईं कुन विषयमा रुचि राख्नुहुन्छ? के गर्न मन लाग्छ ?
  • सीप विकास गर्नुहोस् – अंग्रेजी, कम्प्युटर, डिजाइन, लेखनजस्ता सीपले भविष्य निर्माणमा ठूलो साथ दिन्छ ।
  • पढाइसँगै अनुभव संकलन गर्नुहोस् – इन्टरनशिप, स्वयंसेवक कार्य, फ्रीलान्स आदि तपाईंलाई व्यवहारिक ज्ञान दिन्छ ।
  • समयको सदुपयोग गर्नुहोस् – मोबाइलमा मात्र समय खर्च नगरी ज्ञान र सीप प्राप्तिमा लगाउनुहोस् ।

अन्तिम सन्देश

परीक्षा एक गन्तव्य होइन, यात्रा हो। असफलता आएला, ढिलाइ होला, तर तपाईंको दृढता र परिश्रम कहिल्यै व्यर्थ हुँदैन ।आजको संघर्ष नै भोलिको सफलताको बिउ हो ।

(लेखक बनारस हिन्दु विश्वविद्यालय, वाराणसीमा स्नातकोतर तहमा अध्यनरत छात्र हुन्।)

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here