अभितक मीडिया, काठमाडौं — देशभर आज दिउँसो आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेष गरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यसैगरी, उच्च–पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि रहेको मौसम विज्ञहरूले बताएका छन्। मधेश प्रदेशसहित कोशी प्रदेशको तराई भू-भागका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना रहेको छ।
त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारण बदली रहनेछ। बाँकी भू-भागमा भने मौसम मुख्यतः सफा रहने सम्भावना छ।
उक्त पाँचवटै प्रदेशका थोरै स्थानहरूमा र मधेशसहित अन्य प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको प्रक्षेपण छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ।
मौसमी विश्लेषणअनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुले प्रभाव जमाइरहेको छ। साथै, बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाले पनि आंशिक प्रभाव पारिरहेको मौसमविद्को भनाइ छ।
यात्रा, कृषिकर्म वा बाहिरी गतिविधिमा संलग्न सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
























