वीरगंज, पर्सा – आज अपराह्न भीषण आँधीहुरीसहितको मौसमीय परिवर्तन देखिएको छ। पर्सा, बारा तथा रौतहट जिल्लासहित सिमावर्ती भारतको अधिकांश स्थानमा आकाश एक्कासि कालो बादलले ढाकिएको देखिएको छ।
स्थानीय बासिन्दाका अनुसार, हावाहुरी यति तीव्र थियो कि केही घरका छाना उड्ने खतरा समेत भएको थियो। साथै, अचानक आएको हुरीका कारण बालबालिका र वृद्धहरू त्रसित अवस्थामा घरभित्रै थुनिएका छन्।
वातावरणीय विशेषज्ञहरूका अनुसार, पछिल्ला दिनमा मधेश क्षेत्रमा लगातार वायुमण्डलीय दबावमा आएको परिवर्तनका कारण यस्ता मौसमी घटनाहरू भइरहेको देखिएको छ।
अहिले पनि कतिपय स्थानमा मेघ गर्जनसहित पानीको परिरहेको अवस्था छ। यद्यपि हालसम्म मानवीय क्षति वा ठूलो भौतिक क्षतिको कुनै औपचारिक जानकारी प्राप्त भएको छैन। स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ।

























