वीरगंज — वीरगंज महानगरपालिकाले नगर क्षेत्रभित्रका खाद्य उद्योगहरूमा निगरानी बढाउँदै बेकरी उद्योगहरूको निरीक्षण थालेको छ। शुक्रबार वीरगंज महानगरपालिकाको खाद्य प्रविधि तथा गुण नियन्त्रण र वातावरण शाखाबाट खटिएको टोलीले रानीघाट क्षेत्रका बेकरी उद्योगहरूको स्थलगत निरीक्षण गरेको हो।
| Hilights :
🔹 वीरगंज महानगरपालिकाले रानीघाट क्षेत्रका शीला बेकरी र गीता बेकरीमा निरीक्षण – अनुगमन टोली |
बेकरीमा पुगेर उत्पादन प्रक्रिया, सरसफाइ अवस्था, कच्चा पदार्थको भण्डारण तथा प्याकेजिङ प्रणालीको अध्ययन गरेको थियो। वातावरण शाखा प्रमुख प्रकाश ऐरका अनुसार दुवै बेकरीको उत्पादन स्थल पर्याप्त सरसफाइयुक्त नभएको पाइएको छ। “बेकरी उत्पादनस्थल फोहोर थियो, उपकरणहरू पनि राम्रोसँग सफा गरिएको थिएन,” ऐरले बताए, “यसले खाद्य सामग्रीको गुणस्तरमा प्रतिकूल असर पार्न सक्छ र उपभोक्ताको स्वास्थ्यमा जोखिम पैदा हुन्छ।”
उत्पादन स्थलमा देखिएको सरसफाइको लापरवाहीलाई गम्भीरतापूर्वक लिइएको ऐरले जनाए। उनले भने, “सम्बन्धित उद्योगलाई तत्काल सुधार गर्न निर्देशन दिइएको छ।” यद्यपि निरीक्षणको क्रममा म्याद समाप्त भएका सामग्री भने फेला परेका छैनन्।
टोलीले कच्चा पदार्थ, तयार सामग्री, प्याकेजिङ प्रणाली, भण्डारण तरिका र सम्पूर्ण कार्यस्थलको सरसफाइ अवस्था पनि जाँच गरेको थियो। अनुगमनपछि दुबै उद्योगलाई खाद्य सुरक्षा तथा सरसफाइसम्बन्धी मापदण्ड पूर्णरूपमा पालना गर्न लिखित निर्देशन दिइएको महानगरले जनाएको छ।
यो अनुगमन वीरगंज महानगर प्रमुख राजेशमान सिंहको विशेष निर्देशनमा सञ्चालित बजार अनुगमन तथा खाद्य सुरक्षा अभियानअन्तर्गत गरिएको हो। प्रमुख सिंहले उपभोक्तालाई सुरक्षित र गुणस्तरीय सेवा उपलब्ध गराउने महानगरको प्राथमिकता रहेको बताए।
“हामी उपभोक्ताको स्वास्थ्यसँग सम्झौता गर्न सक्दैनौं,” सिंहले भने, “स्वास्थ्यविपरीत खाद्य वस्तु उत्पादन वा बिक्री वितरण गर्ने व्यवसायहरूलाई चेतावनी दिइनेछ, आवश्यक परेमा कानुनी कारबाही पनि गरिनेछ।”
महानगरले उपभोक्तालाई सुरक्षित खाद्य अधिकार सुनिश्चित गर्न नियमित अनुगमनलाई निरन्तरता दिने बताएको छ।

























