वीरगंज, पर्सा – महालक्ष्मी विकास बैंकले आफ्नो ३१औं वार्षिकोत्सव विविध सामाजिक, आर्थिक तथा सांस्कृतिक कार्यक्रमहरुमार्फत भव्यताका साथ मनाएको छ। बैंकले वार्षिकोत्सवको अवसरमा जेठ ४ गतेदेखि १० गतेसम्म महिनाव्यापी कार्यक्रमहरु आयोजना गरेको हो।
बैंकद्वारा आइतबार जारी गरिएको प्रेस विज्ञप्तिअनुसार, ३१औं वार्षिकोत्सवको अवसरमा देशभरिका शाखा कार्यालयमार्फत ३१ जना महिला उद्यमीहरुलाई सम्मान गरिएको छ। वित्तीय पहुँच, आर्थिक विकास, सामाजिक प्रगति तथा लैंगिक समानताको मूल प्रवाहमा महिलालाई अगाडि ल्याउने उद्देश्यसहित गरिएको यो सम्मानले उद्यमशीलता प्रवर्द्धनमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ।
यस्तै, जेठ ६ गते देशभरका १० शाखा तथा केन्द्रीय कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा ३२० पिन्ट रगत संकलन गरिएको छ। स्वास्थ्य क्षेत्रमा रगतको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको वर्तमानमा, वार्षिकोत्सवकै अवसरमा यो कार्यक्रमलाई प्राथमिकताका साथ आयोजना गरिएको बैंकले जनाएको छ।
वार्षिकोत्सवकै दिन, जेठ ७ गते, बैंकका कर्मचारीहरू देशको भौगोलिक तथा सांस्कृतिक विविधता उजागर गर्न विभिन्न स्थानीय भेषभूषामा सजिएर कार्यस्थलमा उपस्थित भएका थिए। त्यही दिन केन्द्रीय कार्यालयमा निशुल्क स्वास्थ्य शिविर तथा आँखाको जाँच शिविर पनि सञ्चालन गरिएको थियो।
साथै, कर्मचारीहरुको सहभागितामा ‘वित्तीय साक्षरतासहितको प्रभातफेरी’ कार्यक्रम सम्पन्न गरिएको थियो। सो प्रभातफेरीमा मोबाइल बैंकिङ, स्मार्ट क्युआर, निक्षेप, कर्जा व्यवस्थापनजस्ता सेवासम्बन्धी सन्देशमूलक प्लेकार्डहरू प्रयोग गरिएको थियो।
बैंकले आगामी जेठ २१ देखि २४ गतेसम्म काठमाडौंमा आयोजना गर्न लागेको “महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२५ श्रृङ्खला–४” प्रतियोगिताको जानकारी पनि दिएको छ। विगत तीन वर्षदेखि सफल रूपमा सञ्चालन हुँदै आएको उक्त प्रतियोगितामा यस वर्ष २४ टिमको सहभागिता रहनेछ।
बैंकले आफ्ना सम्पूर्ण आदरणीय ग्राहक, शुभेच्छुक तथा सञ्चारकर्मीहरूप्रति वार्षिकोत्सवका कार्यक्रमहरूमा साथ र सहयोगका लागि आभार प्रकट गर्दै भविष्यमा अझ सशक्त सम्बन्ध कायम हुने विश्वास समेत व्यक्त गरेको छ।

























