सांकेतिक तस्विर।

पर्सा — इलाका प्रहरी कार्यालय, पोखरियाले मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। ना.५४प ३८७७ नम्बरको मोटरसाइकल चोरी गरी मात्र १२ हजार रुपैयाँमा बिक्री गरेको आरोपमा प्रहरीले शनिबार पोखरिया नगरपालिका–४ का रितिक गिरीलाई नियन्त्रणमा लिएको हो।

रितिक गिरीको बयानका आधारमा सोही वडाका कृष्ण महतो नुनिया र रामविश्वास महरा पनि पक्राउ परेका छन्। उनीहरूलाई वडा नं ९, शिवर्वाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

विज्ञापन

अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरूले उक्त मोटरसाइकल बिन्ध्यावासिनी गाउँपालिका क्षेत्रमै १२ हजार रुपैयाँमा बिक्री गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मोटरसाइकल चोरीका घटनामा संलग्नता रहे पनि सवारीधनीले उजूरी नगरेकाले उनीहरू लामो समयसम्म प्रहरीको नजरबाट बच्दै आएका थिए। पक्राउ परेका तीनैजनामाथि एक दर्जनभन्दा बढी मोटरसाइकल चोरीमा संलग्न रहेको आशंका गरिएको छ।

“उनीहरूले मोटरसाइकल चोरी गरेपछि सवारीधनीलाई फिर्ता गरिदिन्थे, जसका कारण धेरै पीडितले उजूरी नै नगर्ने गरेका थिए,” प्रहरीले जनाएको छ। तर यसपटक मोटरसाइकलधनीले औपचारिक उजूरी दिएपछि अनुसन्धान अघि बढ्दै उनीहरू पक्राउमा परेका हुन्।

प्रहरीले थप अनुसन्धान जारी रहेको जनाएको छ। चोरीका अन्य घटनामा पनि उनीहरूको संलग्नता पुष्टि हुने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here