तस्विर : सौन्जय

वीरगंज — विश्व वातावरण दिवस २०८२ को अवसरमा वीरगंज–२४, बहुअरीमा अवस्थित शारदा माविको प्राङ्गणमा प्रकृति सेवा प्रतिष्ठान, नेपाल र विद्यालयको संयुक्त आयोजनामा सरसफाइ कार्यक्रम गरी ५ दिवसीय कार्यक्रमको शुभारम्भ गरिएको छ।

कार्यक्रमको पहिलो दिन विद्यालय प्राङ्गणमा सरसफाइ अभियान सञ्चालन गरिएको हो।

विज्ञापन

कार्यक्रममा वडा नं २६ का अध्यक्ष शम्भु मिश्रले प्रकृतिले हामीलाई निःशुल्क रुपमा सम्पूर्ण सुविधा प्रदान गरेकोले यसको संरक्षण गर्नु सबैको कर्तव्य भएको बताए। उनले विश्व वातावरण दिवसलाई वार्षिक कार्यक्रममा मात्र सीमित नराखी दैनिकीको अभिन्न हिस्सा बनाउनुपर्नेमा जोड दिए।

तस्विर : सौन्जय

यसैगरी, वडा नं २४ का वडाध्यक्ष विजय कुर्मीले वातावरण संरक्षणका लागि प्रत्येक व्यक्तिले आआफ्नो घर, विद्यालय, अस्पताल, मठ–मन्दिर, मस्जिद, गुरुद्वारा लगायत सार्वजनिक स्थलहरूको सरसफाइ, वृक्षारोपण, प्लास्टिकजन्य वस्तुको न्यूनतम प्रयोगमा ध्यान दिनुपर्ने बताए। उनले वातावरणमैत्री अभियानमा आफू सधैँ सक्रिय रहेको र अरूलाई पनि रुखविरुवा संरक्षणमा संलग्न गराउनुपर्नेमा जोड दिए।

यसैगरी, प्रधानाध्यापक अनिल वर्णवालले प्रकृतिबिना मानव जीवनको कल्पना गर्न नसकिने भन्दै प्रत्येक व्यक्तिले सन्तान जन्मिँदा कम्तिमा २ वटा र जीवनभरमा कम्तिमा ७ वटा रुख रोप्नुपर्ने आवश्यकता औंल्याए। साथै, उनले प्रकृति सेवा प्रतिष्ठानलाई विद्यालयसँग सहकार्य गरेर यस्तो जनचेतनामूलक कार्यमा सहभागी गराएकोमा आभार प्रकट गरे।

प्रकृति सेवा प्रतिष्ठान, नेपालका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहले संस्थाले “हरियो, सफा र स्वस्थ वीरगंज — प्लास्टिक झोला तथा प्रदूषणमुक्त वीरगंज, धरतीलाई बचाऔं, वातावरणलाई जोगाऔं” भन्ने मूल मन्त्र आत्मसात गर्दै विगत २० वर्षदेखि जनचेतनामूलक गतिविधिहरू सञ्चालन गर्दै आएको बताए। उनले यस वर्षको ५ दिवसीय कार्यक्रम अन्तर्गत विद्यालय परिसरबाट सरसफाइ अभियान सुरु गरिएको र जेठ १८ देखि २२ गतेसम्म प्रत्येक दिन बिहान ६ बजेदेखि विविध कार्यक्रम—जनचेतना, सरसफाइ, साइकल र्‍याली, वृक्षारोपण, कविगोष्ठी आदि—मार्फत वातावरण संरक्षणको सन्देश फैलाउने जानकारी गराए।

तस्विर : सौन्जय

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य हफिस मिया र श्यामसुन्दर कुशवाहाले पनि प्रकृति प्रतिको सजगता र सम्मानका लागि सबैलाई आह्वान गरे।

कार्यक्रममा प्रकृति सेवा प्रतिष्ठान, नेपालका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहको नेतृत्वमा शिक्षक यज्ञराज सापकोटा, सहसचिव अभिनाश झा, वीरगंज कपडा बैङ्कका अध्यक्ष तथा सञ्चारकर्मी लालबाबु सिंह, सदस्य भोला प्रसाद, साबिर अंसारी, कक्षा ८, ९ र १० का विद्यार्थी तथा शिक्षक–कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here