वीरगंज, १९ जेठ – प्रकृति सेवा प्रतिष्ठान, नेपालले वातावरण दिवस २०८२ को अवसरमा आयोजित पाँचदिने कार्यक्रमअन्तर्गत सोमबार दोस्रो दिन विमनपा–२४ मा अवस्थित शारदा माविको सहकार्यमा घरदैलो, सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।
प्रतिष्ठानका अध्यक्ष सरदार जसपाल सिंहले यस वर्षको कार्यक्रम जेठ १८ देखि २२ गतेसम्म बिहान ६ बजेदेखि विभिन्न स्थानमा सञ्चालन हुने जनचेतनामूलक अभियानमार्फत “प्रकृतिप्रति हाम्रो जिम्मेवारी” भन्ने सन्देश जनस्तरसम्म पुर्याउने लक्ष्य रहेको बताए। साथै, यस्ता कार्यक्रमले भावनात्मक रूपमा पनि सबैलाई प्रकृतिप्रति जोड्ने विश्वास व्यक्त गर्दै सहभागीहरूप्रति आभार प्रकट गरे।
विद्यालयका प्रधानाध्यापक अनिल वर्णवालले प्रकृति बिना पृथ्वी र मानव जीवनको कल्पना गर्न नसकिने भन्दै वातावरण संरक्षणमा सबैले व्यक्तिगत जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए।
सोमबारको सरसफाइ अभियानअन्तर्गत विद्यालयदेखि अलौको मुख्य सडक, चौक, पसल र टोलभित्रका क्षेत्रहरू सफा गरिएको थियो। सो क्रममा विद्यार्थीहरूले व्यंग्यात्मक तथा मार्मिक शैलीमा सरसफाइको महत्त्व बुझाउँदै स्थानीयहरूलाई सचेत बनाएका थिए।
कार्यक्रममा समाजसेवी भगवान श्रेष्ठ, अभिनाश झा, भोला प्रसाद, केदार गुप्ता, साबिर अंसारीसहित शिक्षक तथा कक्षा ९ र १० का विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ।

























