वीरगंज, १९ जेठ – भारतमा कोरोना भाइरसको संक्रमण पुनः तीव्र गतिमा फैलिन थालेपछि त्यसको प्रत्यक्ष असर वीरगंज नाकामा देखिन थालेको छ। भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाका रक्सौल–वीरगंजमा यात्रुहरूका लागि स्वास्थ्य जाँच कडाइका साथ सुरु गरिएको छ।
सोमबार वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह स्वयं नाकामा स्थापना गरिएको हेल्थ डेस्कको निरीक्षण गर्न पुगे। संक्रमण पुनः फैलिन नदिन विशेष सतर्कता आवश्यक रहेको भन्दै उनले हेल्थ डेस्कलाई अझ प्रभावकारी बनाउने तयारी भइरहेको जानकारी दिए।
हेल्थ डेस्कमा मास्क, स्यानिटाइजर, तापक्रम मापन उपकरणलगायत सामग्रीको पर्याप्त व्यवस्था गरिएको छ। प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णका अनुसार हेल्थ डेस्कको निरन्तर अनुगमन भइरहेको छ।
स्वास्थ्यकर्मी इब्राना खातुनका अनुसार हाल रक्सौलबाट आउने प्रत्येक यात्रुको तापक्रम स्क्रिनिङ अनिवार्य गरिएको छ। साथै हेल्थ डेस्कको सरसफाइ र मर्मतसम्भार पनि सुरु गरिएको छ।
प्रशासकीय प्रमुख कर्णले भारतमा पुनः सक्रिय हुँदै गएको संक्रमणका कारण नेपाल प्रवेशद्वारमा सतर्कता बढाउनुको विकल्प नरहेको बताए। उनले अहिले नै आवश्यक तयारी नगरे संक्रमण फेरि फैलिन सक्ने भएकाले सतर्कता अपनाइएको जानकारी दिए।
हाल हेल्थ डेस्कमा ७ जना जनशक्तिले यात्रुहरूको स्क्रिनिङको कार्य सम्हालिरहेका छन्।

























