वीरगंज, २० जेठ – वातावरण दिवस २०८२ को सन्दर्भमा वीरगंज प्रकृति सेवा प्रतिष्ठान नेपालले श्री शारदा माध्यमिक विद्यालयको सहकार्यमा आयोजना गरिरहेको पाँच दिने कार्यक्रम अन्तर्गत मंगलबार तेस्रो दिन सरसफाइ सम्बन्धि घरदैलो तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।

“आजको सरसफाइ, एक जनचेतना कार्यक्रम” भन्ने नारासहित सञ्चालन गरिएको यस अभियानमा प्रतिष्ठानका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहको नेतृत्वमा विद्यालयका प्रधानाध्यापक अनिल वर्णवाल, प्रतिष्ठानका सदस्यहरू लालबाबु सिंह, भोला प्रसाद, केदार गुप्ता, शिक्षकहरू र कक्षा ९ तथा १० का विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रम अन्तर्गत विद्यालय परिसरदेखि सुगौली बिर्ता टोलका घर, पसल र सार्वजनिक स्थानहरूमा सरसफाइ गरिएको थियो। प्रतिष्ठानका सहसचिव अविनाश झाले प्रकृति प्रति सम्मान जनाउने उद्देश्यले सरसफाइ कार्यक्रमको आयोजना गरिएको बताए।

अध्यक्ष सिंहले भने, “हामीले प्रत्येक वर्षजस्तै यो वर्ष पनि श्री शारदा माविको सहकार्यमा जेष्ठ १८ देखि २२ गतेसम्म बिहान ६ बजे विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम आयोजना गर्दैछौं। आज हामीले विद्यालय वरपरका सडक, चौक, घर–पसल र टोलका भित्री भागमा सरसफाइ गर्दै स्थानिय बासिन्दालाई स्वच्छता प्रति सजग बनाउने प्रयास गरेका छौं।”

कार्यक्रमको दौरान विद्यार्थीहरूले कहीँ व्यंग्य त कहीँ मार्मिक शैलीमा प्रस्तुत गर्दै हाँसिखुसी वातावरणमा सरसफाइको महत्वबारे जनसमुदायलाई सम्झाउँदै प्रकृति प्रतिको सम्मानमा सबैलाई सहभागी हुन आह्वान गरेका थिए।

स्थानिय महिला, युवाहरूले पनि सरसफाइ कार्यक्रममा भावुक भएर सहभागिता जनाए र भविष्यमा पनि यस्ता अभियानमा निरन्तर साथ दिने वाचा गरेका थिए।

कार्यक्रमको सफलतामा सहभागी सम्पूर्ण विद्यार्थी, शिक्षक, प्रधानाध्यापक तथा प्रतिष्ठानका पदाधिकारी सदस्यहरूप्रति आयोजकले आभार प्रकट गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here