वीरगंज, २० जेठ – वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगंज क्षेत्रमा देखिएको विद्युत आपूर्तिको समस्या दीर्घकालीन रूपमा समाधान गर्न ऊर्जा मन्त्री दीपक खड्कासँग आग्रह गरेका छन्। मंगलबार खानेपानी मन्त्री प्रदीप यादवसँगै ऊर्जा मन्त्रालय पुगेका मेयर सिंहले मन्त्री खड्कासँग भेट गरी हालको अवस्था र त्यसले जनजीवनमा पारेको प्रभावबारे जानकारी गराउँदै समाधानको माग गरेका हुन्।

उनले पछिल्लो समय वीरगंज र आसपासका क्षेत्रमा ४० डिग्री सेल्सियससम्म तापक्रम पुगेको बेला पटक–पटक विद्युत सेवा अवरुद्ध हुँदा जनजीवन कष्टकर बनेको बताए। बारम्बारको अघोषित लोडसेडिङले अस्पतालको सेवा प्रभावित हुनुका साथै विद्यालयमा पठनपाठन अवरुद्ध भएको, बालबालिका, वृद्धवृद्धा र गृहिणीहरू प्रभावित बनेका, विद्युतीय उपकरणहरू बिग्रिन थालेका र उद्योगहरू धराशायी अवस्थामा पुगेका कारण सरकारको ध्यानाकर्षण गराएका हुन्।

विज्ञापन

मेयर सिंहले यो समस्या सरकारको प्राथमिकतामा पर्नु जरुरी रहेको भन्दै दीर्घकालीन समाधानका उपायहरू तत्काल थालनी गर्न माग गरे। साथै, अस्पताल, विद्यालयजस्ता अत्यावश्यक सेवामा तत्काल स्थलगत निरीक्षण गरी आवश्यक परेमा ट्रान्सफर्मर मर्मत वा पुनःस्थापना गर्नुपर्ने सुझावसमेत दिएका छन्।

ऊर्जा मन्त्री खड्काले तत्काल नेपाल विद्युत प्राधिकरण मधेस प्रदेशका प्रादेशिक प्रमुख मनोज यादवलाई टेलिफोनमार्फत निर्देशन दिँदै वीरगंज र आसपासका क्षेत्रको समस्या समाधान गर्न आदेश दिएका छन्।

मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेका अनुसार मन्त्री खड्काले विशेषगरी अस्पताल तथा शिक्षण संस्थाहरूमा तत्काल स्थलगत निरीक्षण गरी सुधार कार्य अघि बढाउन निर्देशन दिएका छन्। वीरगंजका मेयरसँगको सहकार्यमा ऊर्जा मन्त्रालयले समस्या समाधानका लागि गम्भीर पहल थालेको घिमिरेले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here